काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इष्टर पर्वको अवसरमा युक्रेनविरुद्धको युद्ध केही घण्टाका लागि रोक्ने घोषणा गरेका छन् । तर युक्रेनी पक्षले पुटिनको घोषणामाथि अविश्वास व्यक्त गर्दै युद्धविराम वास्तविकता भन्दा प्रचारमुखी प्रयास भएको टिप्पणी गरेको छ ।
पुटिनले शनिबार एक भिडियो सन्देश जारी गर्दै सबै प्रकारका सैन्य कारबाही रोकिने आदेश दिएको बीबीसीले जनाएको छ । युद्धविराम शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म लागू हुने जनाइएको छ । नेपाली समयअनुसार यो समयावधि शनिबार साँझ ८:४५ देखि सोमबार बिहान २:४५ सम्म पर्छ ।
पुटिनले युक्रेनले पनि युद्धविराम पालना गर्ने आशा व्यक्त गरेका छन् । तर उनले यदि उक्साहट वा उल्लंघन भयो भने रुसी सेना जवाफी कारबाहीका लागि तयार हुने चेतावनीसमेत दिएका छन् ।
तर युक्रेनको प्रतिक्रिया सकारात्मक देखिएको छैन । युद्धविरामको घोषणा भइसकेको समयमा पनि युक्रेनको आकाशमा रूसी ड्रोन उडिरहेको देखिएको बताइएको छ । युक्रेनी सेना प्रमुख कमाण्डर इन चिफ अलेक्जेण्डर सिर्स्कीबाट प्राप्त रिपोर्टमा रूसी सेनाले कुर्स्क क्षेत्रमा गतिविधि रोकेको छैन भनिएको छ ।
युक्रेनले बेलगोरोद क्षेत्रमा आफ्ना फौजले नियन्त्रण क्षेत्र विस्तार गरिरहेको जनाएको छ । पुटिनको युद्धविरामलाई युक्रेनी पक्षले इस्टरको नाममा गरिएको प्रचारबाजी भनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology