रेशम अधिकारी, देवदह । कथाकार महेश पौड्यालको कथा सङ्ग्रह “अपरिचित अनुहार” को परिचर्चा कार्यक्रम बुधबार देवदहमा सम्पन्न भएको छ । अनुराग साहित्य समाज देवदहको आयोजना तथा युगीन साहित्य समाज र उज्यालो लालटिन प्रतिष्ठानको संस्थागत आतिथ्यता रहेको कार्यक्रममा कवि तथा समालोचक समेत रहेका पौड्यालको कृतिको साहित्यिक श्रष्टाविच चर्चा भएको हो ।
कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बरिष्ठ कथाकार बनमाली निराकारले पौड्यालको कथा सङ्ग्रह पढेपछि आफूलाई इर्ष उत्पन्न भएको र आफूले यस्तो कथा किन लेख्न नसकेको बताए ।
निराकारले भने - "मैले कथा लेख्न सुरु गरेको समय र उहाँले लेख्न सुरु गरेको समयमा निकै अन्तर होला । सायद मैले लेख्न सुरु गरेको बेला उहाँ जन्मनुभएको थिएँन होला । समयको अन्तरालले कथाको ट्रेन मोडेको छ ।"
कार्यक्रममा समीक्षात्मक दृष्टिकोण राख्दै समालोचक रामचन्द्र श्रेष्ठले अपरिचित अनुहारहरू बहुआयामिक कथाहरूको संग्रह भएको बताए ।

समीक्षाकै क्रममा समालोचक डा. अशोक थापाले सङ्ग्रहमा समाजमा छाँयामा रहेका पात्रहरूको कथा समेटिएको बताए ।
बरिष्ठ समालोचक राजकुमार बानियाँले महेश पौड्यालले आफूलाई परम्परावादी कथाकारका रुपमा बताउने गरेपनि उहाँका अधिकांश कथाहरूमा नवीन दृष्टिको प्रयोग रहेको बताए ।
लेखक महेश पौड्यालले सहभागीहरूको जिज्ञासाको जवाफ कार्यक्रममै दिएका थिए । उनले देवदहमा साहित्यप्रति युवाहरूको लगावको प्रशंसा गरेका थिए ।

कार्यक्रममा युगीन साहित्य समाजका अध्यक्ष सुशील सापकोटा, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर कडेल, अनुराग साहित्य समाजको अध्यक्ष निर्मल ढुंगाना लगायतले आफ्नो भनाइ राखेका थिए ।
साहित्यतर्फ महेश पौड्याल बालसाहित्यकार, कवि, कथाकार, उपन्यासकार, गीतकार, नाटककार, समालोचक र अनुवादक पनि हुन्। पूर्वीय र पाश्चात्य साहित्य र सिद्धान्तका अध्येता पौड्यालका मौलिक १२ वटा कृति तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन्। उनका तीन दर्जन जति अनुवाद र सम्पादनका कृति छन्। शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ७५ रुपैयाँ रहेको छ । पौड्यालका ‘त्यसपछि फुलेन गोदावरी’ कथासंग्रह लगायत कृति प्रकाशनमा आइसकेका छन् ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology