काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक पार्टीका दोस्रो पुस्ते १० नेताहरूलाई झड्का दिएका छन् । दसबुँदे सहमतिको औचित्य नभएको बताउँदै ओलीले लामो समयसम्म माधव नेपाललाई साथ दिएका पार्टीका नेताहरूलाई झड्का दिएका हुन् ।
बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको अब त्यसको औचित्य नभएको बताएका हुन्।
‘अब १० बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भने, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे।’
तत्कालीन एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद चर्किंदा सहमतिका लागि दुवै समूहका नेता सम्मिलित कार्यदल बनाइएको थियो। र, त्यसले एकताका लागि १० बुँदे सहमति जुटाएको थियो। तर अन्ततः त्यसका सबै बुँदाप्रति आफ्नो सहमति नरहेको भन्दै माधव नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन्।
यसर्थ अब एमालेमा त्यो दसबुँदे सहमतिको कुनै अर्थ नरहेको ओलीले बुधबार बताएका हुन्।
उनले सारंगी बजाएजस्तो हात बनाउँदै अब दसबुँदेको गीत गाइरहनु आवश्यक नभएको बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology