काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले इमान, निष्ठा र क्षमताका आधारमा कार्यसम्पादन हुन सकेमा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताएका छन् ।
शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले न्यायपालिकाप्रति उठ्ने प्रश्नहरूको समाधानका लागि आफू सधैं गम्भीर रहेको उल्लेख गरे। मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीहरूको भूमिका निर्णायक रहेको बताए ।
उनले भने, "न्यायालयको रेकर्ड हेर्दा कर्मचारीहरू नै न्यायपालिकाको आधारस्तम्भ हुन् भन्ने अनुभूति भएको छ । तपाईंहरुकै बलमा म न्यायिक सुधारमा लागिरहेको छु ।"
समानान्तर रूपमा उनले कर्मचारीहरूको उत्साह र क्षमतामा विश्वास रहे पनि संस्था र नेतृत्वले त्यसलाई समुचित रूपमा परिचालन गर्न नसकेको कारण अपेक्षित सुधार हासिल नभएको टिप्पणी गरे ।
'सेवा प्रवाह कस्तो छ भन्ने कुरामा आत्मसमीक्षा आवश्यक छ । नतिजा नआए निर्मम समीक्षा गर्नुपर्छ,' भन्दै उनले मुद्दा फछ्र्यौट र व्यवस्थापनजस्ता क्षेत्रमा देखिएको प्रगति सकारात्मक रहेको धारणा राखे ।
राउतले न्यायसेवामा रहेकाहरूले आत्मसमीक्षा र सुधारको प्रक्रियामा सक्रिय हुनुपर्ने उल्लेख गरे। 'तपाईंहरू अद्भुत प्रतिभा बोकेका मानिसहरू हो । यो संस्था जनआस्थामा टिक्ने हो' उनले भने ।
उनले तालिम, अध्ययन, विदेश भ्रमणजस्ता प्रेरक प्रक्रियाहरू प्रारम्भ भइसकेको जानकारी दिँदै परिणाम चाँडै देखिने विश्वास व्यक्त गरे । उनले न्यायिक मर्यादा कायम राख्न इमान र क्षमताको समायोजन गर्न आग्रह गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology