काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले समयमै किसानलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
५ अर्ब ६७ करोड रुपैयाँ कृषि कोल्ड स्टोरको नाममा गएका अनुदानको अनुसन्धान र छानविन गरी जवाफ दिन सरकारसँग आग्रह गरे । उनले हरेक वर्ष झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता हुने गरेको भएपनि आवश्यक मल अझै नआइसकेको भन्दै आपत्ति जनाए । उनले समयमै मलखाद नपाउँदा किसानलाई बढी मर्का पर्ने बताउँदै अहिलेको कृषि बजेट पर्याप्त नरहेको उल्लेख गरे ।
सांसद केसीले भने, ‘कृषिमन्त्रीजीले एक, डेढ महिनाअघि कृषि मन्त्रालयबाट विगत ५ वर्षमा सात अर्ब ६६ करोड अनुदान वितरण भयो, त्यस्तो वितरण कति वास्तविक किसानले पाएका छन् ? कति सदुपयोग भयो, कति अनियमितता भयो, कति राजनीतिक तथा आर्थिक स्वार्थमा भयो, त्यसलाई छानविन गर्छु भनेर सार्वजनिक प्रतिवद्धता गर्नुभयो, त्यसको सम्बन्धमा के हुँदैछ ? हरेक वर्ष हामीलाई झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता छ । त्यो मल साढे ४ देखि ६५ लाख भन्दा बढी लिन नसक्ने अवस्था छ ।’
सांसद केसीले बजेटको निरन्तरतामा पक्षपात नगर्न आग्रह गर्दै कृषि विकास राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology