देवदह । देवदहमा यशोधरा उत्सव मनाइएको छ । शनिवार एक कार्यक्रम बीच सिर्जना सामुदायिक वनस्थित यशोधरा पार्कमा उत्सव मनाइएको हो ।
बुद्धकी जीवन संगिनी यशोधराको सम्झना र सम्मानमा उत्सव मनाइएको वनका अध्यक्ष सम्झना दुबेले बताइन् । विगत केही समयदेखि देवदहमा बुद्ध जयन्तीको अवसर पारेर यशोधरा उत्सव मनाइदै आएको छ ।
कार्यक्रममा दीप प्रज्वलनसहित यशोधराको चर्चा गरियो ।
कार्यक्रममा यशोधरा भिक्षुणी बिहार प्रमुख उपेखा गुरुमा लगायतले बोलेका थिए ।
यशोधरा उत्सवलाई अझै व्यवस्थित र भव्य तरिकाले मनाइनुपर्ने बुद्ध साहित्यका जानकारहरु बताउँछन् ।
यशोधरा को हुन् ?
यशोधराको पूरा नाम यशोधरा गौतमी हो । यशोधराको विवाह राजकुमार सिद्धार्थ गौतम (गौतम बुद्ध) सँग भएको हो । उनीहरूले एक छोरा जन्माए, जसको नाम राहुल राखियो । सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजमहल त्याग गर्दा यशोधरा र बालक राहुललाई छोडेर गएका थिए ।
सिद्धार्थले महल त्यागेपछि यशोधराले कठोर साधना र तपस्यामा समय बिताइन्। जब गौतम बुद्ध सिद्धार्थबाट बुद्ध बनेर फर्किए, यशोधरा पनि उनको शिष्या बनेकी थिइन्। पछि उनी भिक्षुणी समुदायमा प्रवेश गरिन् र आर्यतारा नामले प्रसिद्ध भइन्।
यशोधरा बुद्धका जीवनका महत्वपूर्ण पात्रमध्ये एक थिइन्। उनले बुद्धत्वको खोजका लागि आफ्ना पारिवारिक सुख त्यागेका सिद्धार्थको निर्णयलाई आत्मसात् गरिन्। उनको तपस्या, सहनशीलता र बुद्धको मार्गमा हिँड्ने संकल्पले उनलाई बौद्ध धर्ममा आदर्श नारीको रुपमा स्थापित गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology