रेशम अधिकारी, दुबई । दुबईको क्रिक पार्क आइतबार बिहानैदेखि रंगीन थियो। विदेशी भूमिमा एकछिनका लागि भए पनि नेपालको मनको स्पर्श महसुस गर्ने मौका सायद नेपालीले नेपाल फेस्टिवलमा पाए।
रातो सारीमा सजिएकी कमला पौडेल मेट्रोबाट हतारिँदै उड्मेहेता भन्ने ठाउँमा झरिन्। दुबईको चिल्ला रेल लाइनमा दौडिँदै गर्दा उनको सारीको फेर हावासँग लहराउँदै थियो। हातमा सानो झोला, अनुहारमा हतार, तर मुटुमा एउटा अचम्मको शान्ति। “अब त ढिला भए जस्तो लाग्दैछ,” उनले पार्कको गेटमा अलिक सहज हुँदै भनिन्।
कार्यक्रम स्थल जाने पूरा गेट भरिभराउ थिए । मान्छे लाइनमा पाँच दिराम (नेपाली करिव १७० रुपैयाँ) को टिकट काटेर भित्र छिर्ने पालोको प्रतिक्षामा थिए।
उता स्याङ्जा घर भइ देरा बस्ने कृष्ण गुरुङ बिहानै सिफ्ट सकेर कामको ड्रेसमै कार्यक्रमतिर दौडिए। "आज बिदा छैन, तर त्यो मादलको तालले मलाई रोकेन," उनले भने।
एलिना चौहानको गीतमा लय मिलाउँदै थिइन, बिराटनगर घर भएकी सुसिला पासी, जो देश बाहिर यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएकी थिइन्। "हाम्रो, गाउँको महोत्सव जस्तै हुँदो रैछ," उनले भनिन्।

“नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने मूल नाराका साथ आइतबार युएईको दुबईस्थित क्रिक पार्कमा नेपाल फेस्टिवलमा सम्पन्न भएको छ। कार्यक्रममा ५० हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।
नेपाली राजदूतावास, आबुधावीको संरक्षकत्वमा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएई, नेपाली समाज युएई तथा युएईमा सक्रिय विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको फेस्टिवलमा प्रवासमा रहेका नेपालीहरू मात्र नभई अन्य मुलुकका दर्शकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
फेस्टिवलमा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा, खानपान र हस्तकलाका विविध पक्षहरूको प्रस्तुति दिइएको थियो। नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले एक दर्जनभन्दा बढी स्टलहरू सञ्चालन गरिएको थियो। ती स्टलहरूमा परम्परागत परिकार, हस्तकला सामग्री, संस्कृति झल्काउने वस्त्र तथा सूचना सामग्रीहरूको प्रदर्शन गरिएको थियो।
कार्यक्रमको उद्घोषण चर्चित कमेडियन तथा सञ्चारकर्मी सन्दीप क्षेत्री र पूर्व मिस नेपाल, नायिका तथा मोडल नर्मता श्रेष्ठले गरेका थिए। सांगीतिक कार्यक्रमको आकर्षणको रूपमा गायिका शान्ति श्री परियार, गायक अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान र बमबहादुर कार्कीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू झुमेका थिए।
साथै, विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकीहरूले नेपालको सांस्कृतिक विविधता झल्काएका थिए। लोकनृत्य, मौलिक पहिरन, र परम्परागत बाजागाजासहितको झाँकीहरूले दर्शकको ध्यान तानेको थियो।
कार्यक्रमको समापनतिर दर्शकहरूको भीड अझै बाक्लिँदै गयो। कतिपय दर्शकहरू नेपालकै स्वाद र संगीतले भावुक बनेका देखिन्थे। दुबईमा नेपालीपन मात्र देखिएको थिएन, सिंगो नेपाल देखिइरहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology