माधव ज्ञवाली, गुल्मी । समय बदलियो । उमेर ढल्कियो । जिवनको यात्रामा उनले थुप्रो दुख भोगे । जीउनको लागि ठुलो संघर्ष गरे । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ ज्ञवा निवासी कृष्ण विश्वकर्मा उमेरले आठ दशक नाघिसके।
पुरानो घर, घरमा एक्लै । बुढेसकालको साहारा मात्र लौरो । अब त लौरो पनि साहारा भन्न मात्रै भइसक्यो, आगनभन्दा पर जाने आँट गोडाले गर्दैनन् । उनले कानले समेत राम्रोसँग सुन्दैनन । बल्ल बल्ल कानको नजिकै गएर बोलेमात्र भर पाउँछन् उनी । आँखा त झन बसिसके।
उमेर रहँदासम्म अरुको मेलापात गर्ने, वारि जोतेर गुजारा चलाउने उनी अहिले पुर्णरुपमा केही गर्न नसक्ने भइसकेका छन् । भकारी रित्तै छ ! आङ ढाक्ने गतिलो कपडा समेत छैन उनीसँग ।
तीन छोरी र एक छोराको बाबू समेत रहेका उनको छोराछोरी हुनु र नहुनु सम्मै छ । सबै छोरीको बिहे भइसक्यो । उनी भन्छन् "छोरी को बिहे त भइसक्यो, कोहि पनि हुनेखाने घरमा छैनन् , आफू त कसो गरि चल्छन् , मलाई के हेरुन र खै ।" छोरीहरु पनि खासै उनलाई भेट्न आउँदैनन् । "तिजमा पनि आएनन् , त्यो भन्दा पहिलेको चाडमा पनि आएनन् ।अब दशै आउँदै छ, खै बाटो हेर्दै बस्ने त होला ।" मनिलो अनुहार बनाउँदै उनले भने।
यता छोराको हाल पनि उस्तै छ । पैसा कमाउन भन्दै एक बर्ष भन्दा पहिले इन्डिया छिरेका उनका छोरा आजसम्म कता छन् , के गर्दै छन् केही पत्तो छैन । आजसम्म बाबुसङ्ग सम्पर्कमा पनि आएका छैनन् । श्रीमतिले पनि संसार छोडेर गएको अल्लि भयो।
आजसम्म जसोतसो जीवन गुजारेका उनलाई अब साच्चिकै साहाराको आवश्यकता परेको छ। झनपछी झन बुढेसकाल थपिदै जाँदा उनि थप बेसाहारा बन्दै गएका छन् । जेनतेन बसेर पकाउन सक्ने भएता पनि रासन कहाँबाट ल्याउने, आगो बाल्न दाउरा कसले ल्याइदियोस ? न ग्यास छ,न त चलाउन नै जानेका छन । साच्चै बेसाहारा भएका छन् ८० बर्षे विश्वकर्मा 'बा' ।
सरकारले गरेको लकडाउनका कारण थप मर्कामा परेका उनलाई त्यही स्थानका स्थानीय युवाहरुद्वारा संचालित घ्युबेशी राहत संकलन तथा वितरण अभियान मार्फत अलिकति सहयोग गरिएको थियो । स्थानीय राजन श्रेष्ठ, बालेन श्रेष्ठ, बिशाल गहतराज,अनिस गहतराज लगायतको टिमले लकडाउनको समयमा अभियान मार्फत धेरै ठाउँमा सहयोग गर्दा उनलाई पनि अभियान मार्फत केही राहत उपलब्ध गराइएकोमा दशै नजिकिदै गर्दा बेसाहारा बनिरहेका उनलाई पुनः अभियान मार्फत सहयोग गरिएको छ।
"दशैमा नयाँ कपडा लगाउने र मीठो खाने रहर सबैको हुन्छ । बेसाहारा जीवन भोगिरहनु भएका बुवालाई नया कपडा, केही समयलाई पुग्ने रासन र केही नगद सहयोग गरेका छौँ ।" अभियान्ता विशाल गहतराजले बताए । आफुहरुले भोलिका दिनमा पनि अभियान मार्फत यस्तै दुखी जीवन बिताइरहेकाहरुलाई सहयोग गर्दै जाने पनि उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology