काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् ।
मंगलवार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटपछि सञ्चारकर्मी सँग कुरा गर्दै उनले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे ।
सभापति लामिछानेले पर्साको मुद्धा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए । उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको उनको भनाई छ ।
‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद नै हो । सदनको यो सेसनको पहिलो दिनमा नै मैले प्रक्रियागत रुपमा सम्माननीय सभामुखज्युलाई निवेदन नै दिएको थिएँ ।’ उनले भने, ‘कानूनको मक्सद यो होइन, राजनीतिक प्रतिशोधका कारणले म जन्मनु भन्दा अगाडिको मेरो हजुरबुबाको सम्पतीलाई पनि कसुर मानेर, मेरो विवाह भन्दा अघिको श्रीमतिको सम्पतीलाई पनि कसुर मानेर खालि सांसद पद कसरी निलम्वन गर्न सकिन्छ भन्ने दुषित मनशाय राखि दर्ता मात्र गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्वन हुनु हुँदैन भनेर कानूनी कुरा राखेको थिएँ ।’
सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्धा टुंगिउन् भन्ने उद्धेश्यले केही समय राजनीतिक कार्यक्रमहरुमा नदेखिएको बताए । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रुपमा प्रयोग गरिरहेको जिकिर गर्दै उनले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गरे ।
उनले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताउनु भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology