काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन गाह्रो हुने बताएका छन्।
बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले संविधानको संरचना नै यस्तो भएकाले कुनै एकल पार्टीले बहुमत ल्याउन नसक्ने बताए। "संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ, त्यसैले अन्य दलहरूसँग मिल्नुपर्ने अवस्था रहन्छ। यो पार्टीको दोष होइन, संविधानकै संरचना हो," देउवाले भने।
उनका अनुसार काँग्रेसले निरन्तर प्रयास गरेर सबैभन्दा ठूलो पार्टीको हैसियत हासिल गरेको छ, तर बहुमत ल्याउन नसकेको स्वीकारे। "पार्टीको दोष भन्दा पनि संविधानकै कारण बहुमत ल्याउन कठिन छ। यसलाई बुझेर काँग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी छ," उनले भने।
देउवाले वर्तमान संविधान समावेशी र समानुपातिक प्रतिनिधित्वको आधारमा बनेको हुँदा यसको रक्षा गर्नुपर्नेमा जोड दिए। "अहिलेको संविधान उत्कृष्ट छ। समावेशी, समानुपातिक प्रणालीलाई आत्मसात् गरेको छ, त्यसैले यसलाई जोगाइराख्नुपर्छ," उनले भने।
सभापति देउवाले महिलाहरूलाई प्रत्यक्ष राजकीय प्रशासनमा सहभागी गराउने प्रावधान संविधानमै व्यवस्था भएकाले स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक पद अनिवार्य रूपमा महिलाको हुने उल्लेख गरे। "महिलाले अधिकारका लागि मात्रै होइन, जिम्मेवारीका साथ काम गर्नुपर्छ," उनले भने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology