देवदह । देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सबैखाले सहयोग गर्न नगरपालिका तयार रहेको बताएका छन् । विश्वविद्यालयको स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सेज डिनको कार्यालयले शुक्रबार देवदहमा आयोजना गरेको परिचयात्मक तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख खत्रीले उक्त कुरा बताएका हुन् ।
लुम्बिनी विश्वविद्यालयलाई देवदहले सबैभन्दा धेरै जग्गा उपलब्ध गराएको उल्लेख गर्दै प्रमुख खत्रीले लुम्बिनीस्थित विश्वविद्यालयको हालको मुख्य कार्यलयलाई सम्पर्क कार्यालय बनाएर देवदहमा मुख्य कार्यालय बनाउनुपर्ने बताए ।
विश्वविद्यालयका अनुसन्धान केन्द्र निर्देशक जीतु गीरीले बृहत लुम्बिनी विकास परियोजना र यस क्षेत्रमा शान्तिको सन्देश प्रवाह गर्न समेत लुम्बिनी विश्वविद्यालय र उक्त विद्यालयमा पढ्ने विद्यार्थीहरू सहयोगी हुने बताए ।
विश्वविद्यालयका डिन उकेशराज भुजुले विश्वविद्यालयको उद्देश्यबारे प्रष्ट्याउँदै छिट्टै तीन वटा विषयमा देवदहमै अध्यापन गराईने जानकारी दिए । देवदहका बन जंगलमात्र नभएर तपोवन भएको उल्लेख गर्दै डिन भुजुले बुद्ध सामुदायिक बनलाई बुद्ध तपोवनको रुपमा विकास गर्नुपर्ने बताए ।
विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले कोशेली भवन प्रदान गरेकोमा देवदह नगरपालिकाका धन्यवाद ज्ञापन गरे । हाल कोशेली भवनमा पठनपाठनका लागि सबै तयारी पूरा भएको जानकारी दिदै उनले आगामी दिनमा पनि नगरपालिकाबाट सहयोग प्राप्त हुने अपेक्षा रहेको बताए ।
बुद्ध भिक्षु आनन्दबाट बुद्ध बन्दना सुनेसंगै सुरुभएको उक्त कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्य, प्राध्यापक तथा विश्वविद्यालयका अधिकारी एवं देवदहका विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology