काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालिन राजा शाहले भिलेनको रुपमा भुमिका खेलेको टिप्पणी गरे ।
उनले पूर्वराजा शाहले मूर्खतामार्फत पनि आफूहरुलाई सहयोग गरेको बताए । सात राजनीतिक दलहरुमाथि धोका नदिएको भए राजतन्त्र अझै केही वर्ष टिक्ने प्रचण्डले जिकिर गरे । नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार पूर्वराजा शाहले तयार पारिदिएको उनको भनाई छ ।
‘गणतन्त्रको निम्ति आधार तयार हामीले पा¥यौँ र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्धत गरेकै हो ।’ प्रचण्डले भने, ‘उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्थ्यो ।’
अध्यक्ष प्रचण्डले अहिले संविधान संशोधन नभइ समीक्षाको जरुरी रहेको बताए । उनले संविधानको समीक्षा गरेर मात्रै संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस शुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्ने जिकिर गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology