देवदह । देवदह नगरपालिकाको योजना अनुगमन फितलो हुँदा उपभोक्ता समितिले सास्ती व्यवहोर्नु परेको छ । योजना सम्पन्न भई लेखा शाखाबाट भुक्तानी बुझेका उपभोक्ता समितिको नाममा महालेखाले बेरुजु देखाएपछि उनीहरु समस्यामा परेका हुन् । यसरी बेरुजु देखिएका २० वटा उपभोक्ता समितिलाई नगरपालिकाले पत्र नै काटेर बेरुजु देखिएको रकम एक साताभित्र नगरपालिकाको राजश्व शाखामा दाखिला गर्न आग्रह गरेको छ ।
तर ५ वटा समितिले हालसम्म बेरुजु रकम दाखिला गरेपनि बाँकी उपभोक्ता समितिले हालसम्म रकम दाखिला नगरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । ‘यसअघिका बर्षहरुमा पनि योजना सम्पन्न भइरकेपछि हुने अडिटका क्रममा बेरुजु आउने गथ्र्यो । त्यो कुनै व्यक्तिको नाममा हुँदैनथ्यो ।’ सापकोटाले भने, ‘यो पटक अन्तिम लेखा परिक्षणका क्रममा महालेखाको कार्यालयले प्रारम्भिक प्रतिवेदनमै समिति र जिम्मेवार व्यक्तिकै नाम किटान गरेर बेरुजु देखाएपछि कार्यालयले पत्र काटेको हो ।’
नगरपालिकाले पत्र काटेको भएपनि उपभोक्ता समितिले कामको विवरण र बेरुजुको विचमा केहि भिन्नता वा त्यसको चित्तबुझ्दो कारण देखाएमा आफुहरुले त्यसलाई महालेखाको रिपोर्टमा समावेश गरिदिने सापकोटाले बताए । ‘उपभोक्ता समितिका पदाधिकारीलाई नगरले प्रत्येक बर्ष योजनाका विषयमा तालिम दिने गरेको भएपनि हरेक जसो बर्ष यो समस्या दोहोरिने गरेको छ ।’ उनले भने, ‘हामीले महालेखाले दिएको निर्देशनलाई पालना गर्ने हो, यसलाई सच्याउने अधिकार हामीलाई हुँदैन ।’
प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भनेअनुसार नीति र नियमको बिषय एउटा पाटो हो । तर नगरपालिकाले गर्ने अनुगमनको पाटो निकै फितलो भएको जनगुनासो रहँदै आएको छ ।
गत फाल्गुन २० गते देवदह नगरपालिकाले आयोजना गरेको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमा देवदह ५ का विमल भुषालले बेरुजुका कारण उपभोक्ता समितिका पदाधिकारीहरु त्रसित भएको बताए । ‘गतवर्ष देवदह ५ मा अवस्थित शहिद दिलबहादुर रम्तेल बैकुण्ठनगर बाल उद्यान निर्माणको क्रममा निर्माण सामग्रिको रेसियो नमिलेको भन्दै अध्यक्ष नारायण भट्टराईको नाममा पत्र काटेपछि उहाँले बेरुजु रकम भुक्तान गर्नुभयो ।’ भुषालले नगरपालिकाका कर्मचारी तर्फ प्रश्न गर्दै भने, ‘तालिम प्राप्त र पढालेखा कर्मचारी तपाईहरु, योजनाको लागत इष्टिमेट बनाउने तपाईहरु, योजना अनुगमन गर्ने तपाइहरु, काम सकिएपछि सम्पन्न रिपोर्ट तयार पार्नेपनि तपाईहरु, सबै बिल भौचर चेक गर्नेपनि तपाईहरु, चेक काटेर भुक्तानी पनि तपाईहरुले दिने, अनि योजना सम्पन्न भएको एक बर्षपछि उपभोक्ता समितिको नाममा बेरुजु कसरी निस्कन्छ ?’
यस विषयमा कुरा गर्दा नगरपालिकाका ईन्जिनियर राजकुमार यादवले योजनाका कामहरुमा केहि समस्या रहेको सेतोमसीलाई बताए । ‘सबै दोष उपभोक्ता समितिलाई दिएर हामी उम्कन खोजेका होईनौं ।’ यादवले भने, ‘योजनाको कार्य सम्पन्न हुने बेलासम्म क्वान्टिटी र क्वालिटीमा केहि फरक देखिने गरेको छ । यसको समाधान तर्फ हामी लागिरहेका छौं ।’ इन्जिनियर यादवले सुपर भिजन र फिल्ड अनुगमनमा केहि कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा निगरानी बढाउने बताए ।
बेरुजुको पत्र देवदह ९ स्थित घोडाहा नागथान पथ नाली निर्माण उपभोक्ता समितिलाई समेत पठाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाको हस्ताक्षर रहेको पत्रमा ३५० बोरा ओपिसि सिमेन्टको विल हुनुपर्नेमा पिपिसि सिमेन्टको विल पेश भएकाले फरक परेको रकम भुक्तानी गर्न भनिएको छ ।
यसबारेमा समितिका अध्यक्ष ईश्वरी प्रसाद भण्डारीलाई बुझ्दा आफुहरुले नाली निर्माणमा पिपिसि सिमेन्ट नै प्रयोग गरेकाले सोही बमोजिमको बिल पेश गरिएको बताए । ‘हामीलाई कसैले ओपिसि सिमेन्ट हाल्नुपर्छ भनेर त्यतिबेला भनेन ।’ उनले भने, ‘अनुगमनमा आउने कसैले पनि त्यस्तो नभनेपछि हामीले धेरै काम गर्ने उद्धेश्यका साथ पिपिसि सिमेन्टनै प्रयोग ग¥यौ ।’
फाल्गुन १ गते काटिएको नगरपालिकाको पत्र पाएपछि आफु वडामा गएर योजना इस्टिमेटबारे बुझ्दा लेखापरिक्षणका क्रममा यस्तो भएको जानकारी पाएको उनले बताए । अध्यक्ष भण्डारीले इस्टिमेटबारे आफुलाई जानकारी नभएको र अहिले आएर समस्यामा पारेको गुनासो गरे । ‘प्रदेशको योजनामा आर्थिक वर्ष २०७९÷०८० मा १० लाख रुपैंया बजेटमा ठेकेदार कम्पनीले १३५ मिटर नालि निर्माण गरेर गयो । गत अर्थिक बर्षमा हामीले त्यतिनै बजेटबाट डबल भन्दा पनि बढि २८० मिटर काम गरेका हौं ।’ उनले भने, ‘अघिल्लो बर्ष सम्पन्न भएको कामको यो बर्ष उपभोक्ता समितिको अध्यक्षको नाममा बेरुजु भुक्तानी गर्नुप¥यो भनेर पत्र आउँछ । उनले प्रश्न गरे, के यो बेरुजु रकम उपभोक्ता समितिको अध्यक्षले तिर्नुपर्ने हो ?’
नगरपालिकाका लेखा शाखा प्रमुख निरज पौडेलले आफुले बिल लिएर आउने उपभोक्ता समितिका पदाधिकारीहरुलाई पटक पटक बिल भरपाई नमिलेको भनेर फिर्ता पठाउने गरेको बताए । ‘यसरी फिर्ता पठाउँदा उपभोक्ता समितिको नजरमा लेखा शाखा गलत देखिने गर्छ तर हामीले त्यसको गर्नुको पछाडीको कारण भनेकै बेरुजु कम गर्नका लागि हो ।’ पौडेलले भने, ‘कतिपय केसमा नगरको प्राविधिक मुल्याङ्कन र बजारको उपभोक्ता मुल्य विचको अन्तरले पनि बेरुजु आउने गरेको छ ।’
आफुले सकेसम्म समितिका पदाधिकारीले दुःख नपाउन भन्ने सोँचेपनी नगरमा पाँच सय भन्दा बढि योजनाका काम हुने र ति सबै कामको अन्तिम विन्दु लेखा भएका कारण पनि कतिपय अवस्थामा समस्या आउनेगरेको पौडेलले बताए । उनले उपभोक्ताले योजनाको स्टिमेट राम्रो सँग नबुझेकाले पनि यस्तो समस्या दोहोरिने गरेको बताउँदै आफुले यसबारेमा पटक पटक कुरा उठान गर्ने गरेको उल्लेख गरे ।
भुक्तानी सम्पन्न भएका योजनाको समस्या एकथरी छ भने अर्कोतर्फ यसै आर्थिक बर्षमा काम सम्पन्न भएर भुक्तानीको पर्खाइमा रहेका योजनामा समेत यस्तै त्रुटि दोहोरिएको छ । वडाहरुबाट कार्य सम्पन्न प्रतिवेदन सहित लेखामा पुगेका उपभोक्ता समितिको बिल धमाधम फिर्ता हुन थालेपछि उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरु बिलको खोजीमा बजारमा भौंतारिने अवस्था बनेको छ । पहिलो चौमासिकमा अधिकांस योजनाहरु सम्झौता गरेको तथ्याङ्क प्रस्तुत गर्ने गरेको देवदह नगरपालिकाले आगामि दिनमा यि र यस्ता समस्यालाई कसरी निराकरण गर्ने हो त्यो त हेर्न बाँकी नै छ । तर नगरले हरेक बर्ष योजना सम्झौता गरेसँगै तालिम र विभिन्न गोष्ठिहरु मार्फत योजनाको सुरुवातदेखि सम्पन्न हुने बेलासम्मका चरणहरुबारे जानकारी गराउँदा पनि यो समस्या बारम्बार किन दोहोरिने गरेको छ ? यो सोँचनिय विषय बनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology