देवदह । देवदह नगरपालिकामा अव्यवस्थित तथा सुकुम्बासी जग्गाको नापी कार्यले तिब्रता पाएको छ । लालपुर्जा नपाएर समस्यामा परेका देवदहवासी १४ सय ३४ वटा पुर्जा वितरणको प्रक्रिया अघि बढेपछि आशावादी बनेका छन् । नगरपालिकाले पनि जनअपेक्षा अनुसार अमिनको संख्या बढाएर हरेक दिन १३ घण्टासम्म काम गराउँदै यथासक्य छिटो पुर्जा वितरणको काम गर्ने जनाएको छ ।
सेतोमसीसंग कुरा गर्दै देवदह नगरपालिका भूमि व्यवस्थापन शाखा प्रमुख विष्णु प्रसाद बस्यालले हाल १० जना अमिनले जग्गा नापी र लालपुर्जा बनाउने काम गरिरहेको बताए । ‘कर्मचारीहरुले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म नापजाँच र पुर्जा बनाउने काम गरिरहेका छन् । सकेसम्म छिटो काम सम्पन्न गर्नेगरि टोलीले काम गरिरहेको छ ।’ उनने भने, ‘तर हामीसँग भएका प्राविधिकको संख्या निकै न्युन छ । नगरले प्राविधिकहरुको आवेदन माग गरेको र केहि समयमै थप प्राविधिकहरु टोलीमा जोडिने अपेक्षा गरेका छौं ।’
नगर प्रमुख ध्रुवप्रसाद खरेलले केहिदिन अघि देवदहको वडा नं ७ र ८ मा एकैसाथ नापी कार्यको सुरुवात गर्दै असोज मसान्तसम्म सबै पुर्जा वितरण गरिसक्ने प्रतिवद्धता जनाएका थिए । १५ हजार लालपुर्जा वितरणको लागि अमिनको संख्या जति थप गर्नुपरेपनि आफु तयार रहेको नगर प्रमुख खरेलको भनाइ थियो ।
‘बर्षाको सिजनसमेत सुरु हुन लागिसक्यो हामी फास्ट ट्रयाकबाट काम गर्नेगरी तयारी गरिरहेका छौं ।’ उनले भने, ‘अहिले नै थप १० जना अमिन भर्नाको लागि अन्तरवार्ताको काम समेत सकिएको छ ।’
अन्तरवार्ताबाट छनोट भएका नयाँ अमिनको नतिजा सार्वजनिक गर्ने काम मात्र बाँकी रहेको प्रमुख खरेलको भनाइ छ ।
हाल नापी विभागका एकजना सर्वेक्षकसहित ४ जना कर्मचारी देवदहमा कार्यरत छन् । त्यसैगरी देवदह नगरपालिकाका ६ जना अमिनले पनि काम गरिरहेका छन् । कार्यरत १० जना कर्मचारी मध्ये ४ जनाले फिल्ड नापिरहेका छन् भने बाँकी ६ जनाले पुर्जा निर्माणको काम गरिरहेका छन् । वडा नं ७ र ८ मा नापी चलिरहेको र थप १० जना नयाँ अमिन नियुक्त भएपछि बाँकी वडामा पनि नापजाँचको काम सुरु गरिने शाखा प्रमुख बश्यालले जानकारी दिए ।
थप अमिन नियुक्त गरिएपछि फिल्डमा ७ वटा टिमले काम गर्ने र एउटा टिमले लालपुर्जा निर्माणको कामलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख खरेलका अनुसार हाल देवदहमा झन्डै एक हजार पाँच सय पुर्जा तयार भइसकेका छन् । तयार भएका पुर्जा वितरणको प्रक्रिया अघि बढाउँन लागि जिल्ला भूमि आयोगबाट सूचनासमेत जारी भैसकेको छ ।
नगर भूमि व्यवस्थापन शाखाले प्रक्रिया पुरा गरी भूमि समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीमा पठाएको विवरण अनुसार जारी सूचनामा भूमि समस्या समाधान आयोगको २०८२ जेठ ४ को निर्णयमा देवदहका वडा नं. ५, ६, ७, ९ र १० का विभिन्न टोलमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने उल्लेख छ ।
हालसम्मको तथ्याङ्कमा देवदहमा १५ हजार ३०० भन्दा बढी लालपुर्जा वितरण गर्नुपर्नेछ । त्यसको लागि झण्डै २ करोड ५० लाख वर्गमिटर जग्गाको नापजाँच गर्नुपर्ने हुन्छ । हालसम्म ७७ लाख ९० हजार वर्गमिटर जग्गाको नापजाँच सकिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । जुन जम्मा अव्यवस्थित तथा सुकुम्वासी जग्गाको एक तिहाइ हो ।
देवदहमा आर्थिक वर्ष २०७७/०७८ देखि नापी कार्य सुरु भएको थियो । पहिलोपटक नापि सुरु भएको र वडा नं ९ को कालिका टोलमा रुपन्देहीमै पहिलो पटक ६८ वडा पुर्जा तयार भएको थियो । तर तयार भएको पुर्जाको राजश्व अत्याधिक धेरै भएको भन्दै स्थानीयले पुर्जा लिन नगएको नगर कार्यपालिका सदस्य तथा वडा नं ९ का जनप्रतिनिधि लक्ष्मी विकले जानकारी दिईन् ।
‘पिच बाटोमा प्रतिकठ्ठा जग्गाको मुल्य करिव ६ लाख रुपैंया पर्ने भएकाले कसैले पनि पुर्जाप्रति चासो दिएनन् ।’ उनले भनिन्, उक्त समयमा जम्मा १२० जनाको जग्गा नापी भएको हो, त्यसमध्ये ६८ वटाको पुर्जा बनेको र ७८ जनाको नामलिस्ट वडामा समेत प्राप्त भएको थियो ।'
भूमि सम्बन्धि नियमावलीको पछिल्लो संसोधनले अव्यवस्थित र सुकुम्बासी जग्गाको यसअघिको दुई सय प्रतिशतसम्मको राजश्वको दरलाइ घटाएर ५ देखि १० प्रतिशतसम्म कायम गरेपछि स्थानीयले केहि राहत महशुस गरेका छन् ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीको मूल्याङ्कन अनुसार देवदहको पूर्व-पश्चिम लोकमार्ग नजिक पर्ने जग्गाको मूल्य प्रति कठ्ठा ५७ लाख ९७ हजार ८८० रुपैयाँ, भित्री पक्की सडक मोहडामा पर्ने जग्गाको मूल्य १७ लाख ५६ हजार ९२० रुपैयाँ, ग्रावेल तथा कच्ची सडक मोहडामा पर्ने जग्गाको मूल्य ८ लाख ७८ हजार ४६० रुपैयाँ र अन्य बाटो नभएको जग्गाको मूल्य २ लाख ९२ हजार ८२० रुपैयाँ निर्धारण गरिएको छ ।
लालपुर्जा लिनको लागि राजश्व नियम लागू हुनेछ । आवासीय क्षेत्रका जग्गाहरूमा १० प्रतिशत र कृषि योग्य जग्गामा ५ प्रतिशत राजश्व तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
तत्कालिन जिल्ला भूमि आयोगका सदस्य यमलाल तिवारीले आफ्नो पहलमा जिल्लामै पहिलोपटक देवदहबाट नापी सुरु भएको बताए । राम्रोसँग पहलकदमी लिने र काम गर्ने हो भने देवदह लालपुर्जा वितरण गर्ने देशमै पहिलो नगर बन्ने तिवारीको भनाइ छ ।
विगत लामो समयदेखि गिजोलिएको नेपालको अव्यवस्थित र सुकुम्बासी समस्या फेरी पनि कुनै कारणले बिथोलिएर लालपुर्जा वितरण नहुने हो कि भन्ने आशंकासमेत नागरिकहरुमा कायम नै छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology