देवदह । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहले सेयर सदस्यहरुलाई व्यवसायिक योजना तयारी सम्बन्धि तालिम दिएको छ । घरेलु तथा साना उद्योग कार्यालय सिद्धार्थनगरको आयोजना र कोलिय देवदह सहकारीको समन्वयमा सम्पन्न तालिममा उद्यमीहरुलाई व्यवसायिक योजना तयारीसँंगै ऋण लिने प्रक्रियाका विषयमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रमका साकोसका अध्यक्ष ऋषिराम सापकोटाले उद्यमीहरुले व्यवसाय सुरु गर्दा व्यवसायिक योजना बनाउनुपर्ने बताए । ‘व्यवसाय सुरु गर्दा त्यसको तयारी स्वरुप ऋण कसरी लिने, कहाँबाट लिने आदि प्रक्रियाको बारेमा जानकारी लिनुपर्ने हुन्छ ।’ सापकोटाले भने, ‘कार्यक्रमबाट सहभागिहरुले व्यवसायिक योजनाका विषयमा धेरै ज्ञान प्राप्त गर्नेछन् ।’
सोही अवसरमा नेपाल बैंक लिमिटेड बुटवलका सह प्रबन्धक सुरेन्द्र सिंह आलेले कर्जाको किसिम, कर्जाको प्रक्रिया, कर्जा प्राप्तिको तयारी, बैंकले कर्जा प्रवाह किन र कुन–कुन प्रायोजनका लागी गर्छ भन्ने विषयमा सहभागिहरुलाई प्रष्ट्याएका थिए । उनले कर्जाको सम्बन्धमा सहभागिहरुमा रहेका अष्पष्टतालाई सहजिकरण गरेका थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय सिद्धार्थनगरका वरिष्ठ उद्योग अधिकृत मोहन परियार र उद्यम विकास सहजकर्ता अनन्त पन्थीले प्रशिक्षण दिदै व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया, वित्तिय सेवामा पहुँच तथा वित्त व्यवस्थापन, घरेलु उद्योगले गर्ने काम सम्बन्धमा जानकारी गराइएका थिए ।
कोलिय देवदह साकोसका ४५ जना शेयर सदस्यको सहभागिता रहेको कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत शारदा भट्टराईको अध्यक्षता, योजना अधिकृत लक्ष्मी प्रसाद दाहालको स्वागत र साकोसका व्यवस्थापक विनोद पराजुलीको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology