काठमाडौं । चौतर्फी आलोचनापछि काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई बिहीबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनीमाथि गत २४ माघ गते राति ठमेलमा ड्यूटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोप छ । कुटपिटमा संलग्न जोशी सो घटनापछि फरार थिए ।
घटना हुँदा जोशीसँगै रहेका पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी भएको थियो । तर, उनलाई चाहिँ उन्मुक्ति दिइएको थियो । सरकार नै उनलाई जोगाउन लागेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
पक्राउ पुर्जी जारी भएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा अहिले प्रहरी हिरासतमा छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology