देवदह । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन रुपन्देहीको आयोजनामा प्रथम नेशनल प्याव्सन कप भलिवल प्रतियोगिता देवदहमा सुरु भएको छ। शुक्रबार एक कार्यक्रम बीच देवदह-५ स्थित पानबारी खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले खेल स्वास्थ्य र अनुशासनको सबैभन्दा उपयुक्त माध्यम भएको बताए । उनले नेशनल प्याब्सनले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप गरिरहेको यसले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे, नेशनल प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेल, इप्सा देवदहका अध्यक्ष राम बहादुर गुरुङ, नेशनल प्याब्सन केन्द्रिय सदस्य बिष्णु प्रसाद पौडेल, नेशनल प्याब्सन प्रदेश उपाध्यक्ष होमनाथ ढुंगाना, प्रहरी चौकी खैरेनीका इन्चार्ज एक्क बहादुर नेपाली, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्घाटन खेलमा न्यु नमुना बोर्डिङ स्कुललाई २५,११ र २५,२३ को सोझो सेटमा पराजित गर्दै देवदह बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेको छ ।
नेशनल प्याव्सन रुपन्देहीले संगठनमा आवद्ध विद्यालय र विद्यार्थीहरुको बिचमा खेलको माध्यमबाट एकता र सुमधुर सम्बन्ध कायम गर्न र प्रतियोगिता मार्फत विद्यार्थीहरुको खेलकुद क्षमताको विकास गर्न र उनीहरुमा अनुशासन, आत्मविश्वास तथा सामूहिक भावना बढाउन साथै खेलाडीको क्षमता पहिचान गरि भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार, द्वितीय हुनेले ७ हजार र तृतीय हुने टिमले ३ हजार नगद तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कमल पौडेलले जानकारी दिए ।
कार्यक्रम नेशनल प्याब्सन जिल्ला अध्यक्ष तिलक केसीको अध्यक्षता, खेल संयोजक कमल पौडेलको स्वागत र सचीव अमित यादवको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology