बुटवल । रुपन्देहीको बुटवलमा नेशनल प्याब्सन जिल्लास्तरीय वक्तृत्वकला र गायन प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीको आयोजनामा शनिबार भएको प्रतियोगितामा वक्तृत्वकलातर्फ देवदह इङलिस बोर्डिङ स्कुल, खैरेनी र गायनतर्फ स्कलर्स होम इङलिस बोर्डिङ स्कुल, बुटवल बिजयी भएका हुन् । देवदह बोर्डिङका विद्यार्थी शेखर पाण्डेले वक्तृत्वकला प्रतियोगिताको उपाधि जिते भने त्यस्तै स्कलर्स होमका विद्यार्थी रेनुका सुनारले गायनतर्फको उपाधि जितेकी हुन् । उनीहरुले उपाधि सहित जनही नगद ५÷५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात परे ।
दुवैतर्फ डेढ÷डेढ दर्जन विद्यालयका विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा वक्तृत्वकलातर्फ सगरमाथा माविका दिपा बस्याल द्वितीय, सैनामैना मेमोरियलका प्रतिक भण्डारी तृतीय र स्कलर्स होमका राजन केसीले प्रोत्साहन पुरस्कार हात पारे । त्यसैगरी गायनतर्फ न्यु लुम्विनी बोर्डिङ्ग स्कुलकी जानकी पौडेलले द्वितीय, सैनामैना मेमोरीयल बोर्डिङका आयुस चुनाराले तृतीय र एचिभर्स एकेडेमीकी निलिशा थापाले प्रोत्साहन पुरस्कार हात पारेको कार्यक्रम संयोजक तथा नेशनल प्याब्सनका बरिष्ठ उपाध्यक्ष बाबुराम बन्जाडेले जानकारी दिनुभयो । उनीहरुले जनही ३ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ नगद, शिल्ड मेडल तथा प्रमाणपत्र हात परेको कार्यक्रम संयोजक बन्जाडेले बताउनुभयो ।
नेशनल प्याब्सनका अध्यक्ष बिलप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले विद्यार्थीलाई पाठ्यक्रमसँगै बाहिरी ज्ञानको पनि उत्तिकै आवश्यक पर्ने भएकाले अतिरिक्त शिक्षण सिकाईलाई संस्थागत विद्यालयले जोड दिदै आएको बताउनुभयो । उहाँले संस्थागत विद्यालयलाई सरकारले हेर्ने दृष्टिकोण सदैव सकारात्मक हुनु पर्ने तर्क राख्नुभयो । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य विष्णुप्रसाद पौडेल, देउप्रकाश राई, बालाकृष्ण तिवारी, राजु गुरुङ्ग, प्रदेश सहसचिव जेबी क्षेत्री, नेशनल प्याब्सनका सह अध्यक्ष तिलब केसी लगायतले विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो । नेशनल प्याब्सनका कोषाध्यक्ष विनोद थापा मगरको संचालनमा भएको कार्यक्रममा प्रा.डा केशवराज पोखरेल, डा. नारायण प्रकाश पन्थ, प्रेम नेपाली, किशोर बिकलगायतले निर्णायकको भुमिका निभाउनु भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology