देवदह l रूपन्देहीको देवदहमा क्रिकेट प्रतियोगिता हुने भएको छ । नमुना हरियाली टोल विकास संस्थाको आयोजनामा 'हरियाली क्रिकेट कप २०८१' हुने भएको हो । मङ्गलबार देवदहमा पत्रकार सम्मेलन गर्दै टोल विकास संस्थाले देवदह ५ स्थित बुद्ध सामुदायिक खेल मैदानमा पुष २० बाट प्रतियोगिता सञ्चालन हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष पारस न्यौपानेले युवाहरूको प्रतिभालाई प्रस्फुटन गर्न र खेलाडी उत्पादन गरी खेलको माध्यमबाट देवदहलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले 'हरियाली क्रिकेट कप' आयोजना गरिएको बताए । प्रतियोगिता तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै यसले खेलमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उनले बताए। प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र र मेन अफ द सिरिजलाई चार हजार, वेस्ट बलर र वेस्ट ब्याट्सम्यानलाई प्रतिव्यक्ति २५ सय प्रदान गरिने भएको छ ।
टेनिस बलले खेलाइने प्रतियोगिताको पहिलो दिनको खेल १६-१६ ओभरको हुने र त्यसपछिका खेलहरू २०-२० ओभर खेलाइने खेल संयोजक कमल चापागाँईले जानकारी दिए । प्रतियोगिता आइ.सि.सी का नियमहरू पालना गर्दै खेल टाई सिट अनुसार सञ्चालन हुने उनको भनाई छ । हालसम्म १५ टिम दर्ता भैसकेको र टिम दर्ता गर्ने समय बिहिबारसम्म रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क तिन हजार शुल्क तोकिएको छ ।
नमुना हरियाली टोल विकास संस्था देवदहले नगरपालिका भित्र पहिलो पटक खेलकुदका कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा आयोजक टोलीले प्रतियोगिता सफल बनाउन स्थानीय समुदाय, खेलप्रेमी, र टिमहरूको सहयोग अपरिहार्य रहेको बताए। यस प्रकारका कार्यक्रमले युवाहरूलाई खेलकुदमा प्रेरित गर्दै उनीहरूको क्षमता उजागर गर्न सघाउ पुर्याउने आयोजकको विश्वास छ। प्रेस मिटमा स्थानीय सञ्चारकर्मी, खेलप्रेमी, र विभिन्न क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology