देवदह । देवदहमा संचालन हुने नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत वडा नं ५ र ६ का टोलविकास संस्थाहरु बिच बैठक सम्पन्न भएको छ । बैठकमा मेलालाई व्यवस्थित र सफल पार्नका लागि आ–आफ्नो क्षेत्रबाट भुमिका निभाउने विषयमा छलफल भएको मिडिया संयोजक पवन पौडेलले जानकारी दिए ।
बैठकले महोत्सवका लागि वडा नम्बर ५ बाट यमलाल शर्मा र वडा नम्बर ६ बाट पूर्णबहादुर गुरुङलाई टोल विकास संस्था व्यवस्थापन उपसमिति सदस्यमा चयन गर्ने निर्णय गरेको अध्यक्ष कोषबहादुर गुरुङ्गले बताए ।
‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको अध्यक्ष गुरुङले जानकारी दिए । ‘अहिले मेला स्थलमा स्टल निर्माणको काम भइरहेको छ ।’ अध्यक्ष गुरुङ्गले भने, ‘यसले पनि मेलाको तयारी तिब्र रुपमा भईरहेको सङ्केत गर्छ ।’
देवदह व्यापार संघको आयोजनामा आगामी माघ १० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउने विषयमा बैठकमा छलफल भएको टोल विकास संस्था समन्वय उपसमिति संयोजक भिमलाल काफ्लेले जानकारी दिए ।
संघले मेला सम्पन्न गर्नका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन गरिसकेको जनाएको छ । मेलालाई व्यवस्थित र मर्यादिन बनाउनका लागि संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग संयोजक र बरिष्ठ उपाध्यक्ष माधव ढकाल सह–संयोजक रहेको ३४ सदस्यीय मुल आयोजक समिति निर्माण गरएको महासचिब हरिलाल भण्डारीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology