रेशम अधिकारी अशोक, देवदह । कोरोना भाइरस संक्रमण र जोखिम उच्च रहेकोले सरकारले विभिन्न स्वास्थ्यका मापदण्ड अपनाउन र सङ्क्रमणबाट जोगिन बारम्बार अनुरोध गर्दै आएको छ ।
चाडपर्व नजिकै गरेको र सङ्क्रमणको जोखिम बढेको कारण सबैलाई आफ्नै घर भित्र पर्व मनाउन अनुरोध गरिएको हो । सरकारको आग्रह अनुसारै विभिन्न स्थानीय तहमा स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउने तयारी देखिन्छ । तर लुम्बिनी प्रदेशको देवदह नगरपालिकाको कुरा भने अलग छ ।
आफ्नो निर्देशन आफै उल्लंघन गर्ने देवदह नगरपालिकाका पदाधिकारी र अधिकृत
देवदह नगरपालिकाले साउन ३२ गते प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा बसेको डिसिसिएमसी (DCCMC) को बैठकको निर्णय अनुसार संक्रमण कम भएपनि जोखिम कायमै रहेको भन्दै कुनै पनि पार्टी प्यालेस र होटेलमा तिज विशेष (दरखाने, नाचगान) गर्ने खालका कार्यक्रम पूर्ण रुपमा बन्द गर्ने र स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गरि आ-आफ्नो घरमा तिज मनाउन अनुरोध गरेको भन्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम बेलबासेले भदौ ५ मा सूचना जारी गरे ।
तर सूचना जारी गरेको भोलिपल्ट देखिनै देवदहमा धुमधाम तिज विशेष दर खाने कार्यक्रम, सम्मेलन, शुभकामना आदानप्रदान लगायत कार्यक्रम सम्पन्न भए । त्यो दृष्य देख्दा जोकोहीलाई लाग्थ्योकी संक्रमण र संक्रमणको जोखिम शून्य छ ।
अन्य संस्था वा पार्टीले कार्यक्रम गर्दा त्यति फरक नपर्ला । तर सूचना जारी गर्दै कार्यक्रम पूर्ण रुपमा बन्द गर्ने र स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गरि आ-आफ्नो घरमा तिज मनाउन अनुरोध गर्ने देवदह नगरपालिकाबाट नै होटेलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि सूचनाको खिल्ली उडाउने काम समेत देवदहमा भयो ।

देवदह नगरपालिकाले भदौ २२ गते कार्यक्रम आयोजना गर्यो । दृश्य देख्न सक्छौं - प्रशासकीय अधिकृत डिल्लीराम बेलबासे, नगर प्रमुख हिरा खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, लगायत बिभिन्न वडाका प्रतिनिधिको यो उपस्थिति । न कुनै स्वास्थ्य मापदण्ड, न सामाजिक दुरी । स्थानीय सरकार कै पदाधिकारी र मुख्य प्रशासक र जनप्रतिनिधिले नै उल्लघंन गरेपछि अन्यले के गर्लान् ?
'बिन्दास' पारामा सामाजिक संस्थाहरूको तीज पार्टी

अर्को दृष्य लायन्स क्लब अफ देवदहको हो । यो संस्थामा देवदहका शैक्षिक व्यक्तित्व र जनप्रतिनिधि आबद्ध भएको पाइन्छ । यो कार्यक्रम अरु भन्दा झन्नै भव्य रह्यो । तिजको कार्यक्रममा महिला भन्दा पुरुषको बढि सहभागिता रहेको कार्यक्रम दरको नाममा पुरुषले अन्य पदार्थ लिएको पनि देख्न सकिन्छ । उक्त तस्बिर क्लब सदस्यले नै सामाजिक सञ्जालमा राखेका हुन् । शैक्षिक व्यक्ति आबद्ध रहेको संस्थाले नै यो हर्कत गर्दा उनीहरूबाट बिद्यार्थीले के सिक्लान अनुमान गर्न सकिन्छ ।

यो अर्को लियो क्लब अफ लर्ड बुद्धले आयोजना गरेको तिज साथै सम्मान कार्यक्रम हो । यो कार्यक्रममा पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखिदैन । क्लबका अध्यक्षले नै मास्क लगाएका छैनन् ।

यो अर्को दृष्य हो रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहको । फरक कार्यक्रम आयोजना गरेपनि अवस्था उस्तै । बुबाको मुख हेर्ने दिनकों अबसरमा पिता सम्मान एवं तिज मिलन कार्यक्रम आयोजन गरको थियो । न पिता, न त सन्ताननै तस्बिरमा देखाएको अनुसार अधिकांशले मास्क लगाएको देखिदैंन ।
देवदह आदर्श क्याम्पसमा अनेरास्ववियुको 'चरी जेलैमा'

अर्को दृष्य नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको दर खाने कार्यक्रमको हो । बिद्यार्थीले नै आयोजन गरेको कार्यक्रममा देशका मेरुदण्ड भनिएका युवा बिद्यार्थीहरु नै स्वास्थ्य मापदण्ड पालना नगरी झुमेको देख्न सकिन्छ । पढाउन बन्द तर कार्यक्रम गर्न खूल्ला रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा उनीहरू चरी जेलैमा गीतमा नाच्दै थिए ।
सत्तारूढ पार्टी निकट क्रान्तिकारीको आफ्नै पारा

यो दृष्य पनि हेरौ तिज बिशेष कार्यक्रमहरुको लर्को चलिरहदा आफ्नो संगठन बलियो पार्न नेकपा माओवादीकेन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वान्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) द्वारा नगर सम्मेलन आयोजन गरिएको थियो । तर तिज कार्यक्रममा झैँ यहाँपनि सामाजिक दुरी वा स्वास्थ्य मापदण्ड पालना भएको देख्न सकिएन ।
यहाँ देखाइएको दृष्यहरु प्रतिनिधि मात्र हुन् । अझै पनि हामि कोरोना संक्रमणबाट मुक्त हुन सकेका छैनौं । समाजमा रहेका जान्ने, बुज्नेले नै यस्तो कार्य गरेपछि अरुले के गर्लान् ? सबैले बेलैमा सोंच्न ढिला भैसकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology