टोपलाल अर्याल, गुल्मी । सुकेको गुराँसका ठुटाहरुमा निर्माण गरिएका आकर्षक मूर्तिहरुले गुल्मी जिल्लाको सत्यवती क्षेत्रमा पर्यटकीय आकर्षण बढाएको छ । सत्यवती गाउँपालिकाको आयोजनामा कार्तिक १ गतेदेखि १० गतेसम्म काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला सञ्चालन गरिएको थियो ।
धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतीको प्रचार–प्रसारमा टेवा पु¥याउने उद्देश्यले सत्यवती गाउँपालिकाको वडा नं. ३ ठूलोलुम्पेकको सत्यवति क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको वडाध्यक्ष जित बहादुर तरामुले जानकारी दिए । कार्यशालामा स्वदेश तथा विदेशमा ख्याती कमाएका २३ जना मूर्तिकार तथा चित्रकारहरु सहभागीता रहेको थियो ।
पछिल्लो समय गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवति क्षेत्रमा भौतिक विकासलाई तिव्रता दिइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनको लागि कार्यशालाले थप टेवा पु¥याउने अपेक्षा गरिएको तरामुले बताए । मूर्तिकार तथा चित्रकारहरु मध्ये प्रत्येकले एउटा मूर्ति तथा तीन/चार वटा चित्र बनाएका छन् । कलाकारहरुको संयोजन गरिरहेका बरिष्ठ मूर्तिकार ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ यामबहादुर थापाले जङ्गलमा सडेर जाने गुँरासका काठहरुमा साँस्कृतिक, प्राकृतिक र धार्मिक आस्था सहित सत्यवती क्षेत्रको भावना समेटिएका आर्कषक मूर्तिहरु कोरिएको बताए ।
सत्यवती गाउँपालिकाकै मूर्ति तथा चित्रकारहरुको अगुवाईमा निशुल्क कार्याशाला गरिएको थियो । सत्यवती गाउँपालिकाका प्राज्ञ मूर्तिकार भुवन थापा मगर ‘बहुवी’, याम बहादुर थापा र नरेन्द्र भण्डारीले आफु र विभिन्न ठाउँका कलाकारलाई समेटेर सत्यवती क्षेत्रको पर्यटकीय विकासको लागि निशुल्क रुपमा मूर्ति तथा चित्रहरु निर्माण गरेका हुन् ।
प्राज्ञ बरिष्ठ मूर्तिकार नरेन्द्र भण्डारीले मूर्ति तथा चित्र मार्फत देश तथा विदेशमा पहिचान बनाएपनि आफ्नै गाउँमा आफु र आफ्नो प्रतिभा गुमनाम भएकाले कार्यशाला मार्फत जोडिन खोजेको बताए । चित्रकारहरुले सत्यवती क्षेत्रका मठ मन्दिर तथा पुर्व प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्मको फोटो निर्माण गरेका छन् । नेपाल सरकारका एक सय नयाँ पर्यटकीय गन्तव्य मध्ये सत्यवती क्षेत्र पनि पर्दछ । सत्यवति क्षेत्रको विकास गाउँपालिकाको प्राथमिकतामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले जानकारी दिए । उनले संघ, प्रदेश र स्थानीय सरकार मार्फत विभिन्न पर्यटकीय योजनाहरुको काम अघि सारिएको बताए ।
सत्यवती क्षेत्रमा पर्यटन बोर्ड र पालिकाले गरेर दुई चरणमा ५८ लाख बढिका संरचना निर्माण गरिएको बताए । पिकनिक स्पट, ट्रस, शौचालय, पार्क लगायतका संरचनाहरु निर्माण भएका छन् । सत्यवती क्षेत्रमै चिया बगानका लागि परिक्षण थालिएको छ भने सोही क्षेत्रबाट उत्तर तर्फका हिमालहरुको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले आफ्नो जन्मभूमिप्रति मूर्ति तथा चित्रकारले देखाएको उर्जा र सहयोगी भावनाको उच्च प्रशंसा गरे । उनले सत्यवतीको लागि केन्द्र र प्रदेश सरकार मार्फत सोँचे अनुसारको सहयोग नपाएपनि आँफुहरुको प्रयत्न जारी रहेको बताए । साथै पाण्डेले देश तथा बिदेशमा कहलिएका कलाकारहरुलाई अहिले सम्म गाउँपालिकाले चिन्न नसक्नु दुँखद पक्ष भएको बताउँदै आगामी दिनमा समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले मूर्तिकार तथा चित्रकारहरुले मेहनतका साथ निर्माण गरेका मूर्ति तथा चित्रहरुको संरक्षणमा गाउँपालिकालाई चुनौति थपिएको बताए ।
गाउँपालिकाले १० दिनसम्म मूर्ति तथा चित्र निर्माण गरेका कलाकार तथा स्वयम्सेवकहरुलाई सम्मान गरेको छ । कार्यशालाको समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य यमु गैरे, कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा, सत्यवती तथा कालिगण्डकीका वडाध्यक्ष तथा जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology