Logo

२०८३, श्रावण २७गते


images
images

सेतोमसी विशेष

यसरी हुँदैछन् देवदहका विद्यालय ‘मर्ज’

यसरी हुँदैछन् देवदहका विद्यालय ‘मर्ज’

images
  • यसरी हुँदैछन् देवदहका विद्यालय ‘मर्ज’
    images
    images

    देवदह । देवदहमा रहेका विद्यालयहरु समायोजन (मर्ज) हुनेभएका छन् । विद्यालय समायोजना तथा एकिकरण कार्यदलले तयार पारेको प्रतिवेदनमा शैक्षिक गुणस्तर वृद्धिका लागि अधिकांश आधारभुत विद्यालय मर्ज गर्नुपर्ने निष्कर्ष निकालेसंगै समायोजन प्रक्रिया अघि बढेको हो । 

    images
    images
    images

    नगर शिक्षा समितिको २०८० चैत १३ गतेको बैठकले विद्यालय मर्जबारे अध्ययन गर्न कार्यदल बनायो । सामाजिक विकास समिति संयोजक तथा नगर शिक्षा समिति सदस्य हरि प्रसाद पाण्डेको संयोजकत्वमा बनेको ७ सदस्यीय कार्यदलले २०८१ साउन २४ गते प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा विद्यार्थी संख्या कम भएका नगरका विद्यालयहरुलाई समायोजन गर्न सुझाइएको छ ।

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै कार्यदलका संयोजक पाण्डेले शिक्षा समितिले दिएको जिम्मेवारी आफुहरुले  पुरा गरेको बताए । “नगरको शिक्षा क्षेत्रलाई सुदृढ र ब्यवस्थित गर्न विद्यालय समायोजन अनिवार्य जस्तै बनेको छ ।” उनले भने, “समायोजनका आवश्यकता, सम्भाब्यता र चुनौती सहितको प्रतिवेदन नगर शिक्षा समितिलाई बुझाएका छौं । कार्यपालिकाले अनुमोदन गरिसकेपछि यो कार्यान्वयनको प्रकृयामा जान्छ ।”

    images
    images
    images

    नगर शिक्षा समितिका संयोजक समेत रहेका नगर प्रमुख ध्रुवप्रसाद खरेलले कार्यदलको प्रतिवेदनको आधारमा सहमतिका साथ प्रकृया अघि बढाईने बताए । उनले भने, “ यही असोजको पहिलो हप्तासम्म सम्बन्धित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडाका जनप्रतिनिधीहरु सहितको बैठकले आवश्यक निर्णय लिनेछ ।” 

    प्रतिवेदनमा के छ ?

    कार्यदलले बुझाएको प्रतिवेदनमा देवदह नगरपालिकामा रहेका आधारभूत तह (कक्षा १–५) मात्र सञ्चालित १२ वटै सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यविधि, २०७७ को दफा ५ (२) मा उल्लेखित विद्यार्थी संख्या भन्दा न्यून रहेको उल्लेख छ । जसमध्ये शान्तिप्रीय आवि देवदह–४ को कक्षा ४ र ५ तथा जनकल्याण आवि (१–५) देवदह–१ को कक्षा ५ मा विद्यार्थी संख्या शुन्य छन् । शान्तिप्रीयमा बालकक्षा (२० जना) बाहेक जम्मा २० जना विद्यार्थी रहेका छन् । जहाँ ४ जना शिक्षकको दरवन्दी रहेको छ ।

    यसैगरी देवदह वडा नं ९ मा अवस्थित सन्दिप आवि (१–५) मा बालकक्षा बाहेक ४५ जना विद्यार्थी छन् । सन्दिपमा बालविकासमा १ सहित ४ जना शिक्षकको दरबन्दी रहेको छ । त्यस्तै उदय आवि देवदह ७, (१–५) मा ३ शिक्षकको दरवन्दी रहेको छ । उक्त विद्यालयमा बालकक्षा बाहेक १६ जना बिद्यार्थी रहेका छन् । देवदह ७ मै रहेको व्यास आवि (१–५) मा बालकक्षा बाहेक २९ जना बिद्यार्थी अध्ययनरत छन् । जहाँ बालकक्षा सहित शिक्षकको दरबन्दी ७ जना रहेको देखिन्छ ।  देवदह ६ मा रहेको साईबाबा विद्यापिठ (१–५) मा बालकक्षा सहित ३ जनाको दरवन्दी रहेको छ, भने उक्त विद्यालयमा बालकक्षा बाहेक २० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

    विद्यार्थी संख्याको हिसाबले देवदह–१ मा रहेको मदरसा ईस्लामिया अहले सुन्नत गरिबुल ओलुम (१–५) अब्बल देखिन्छ । मदरसामा बालकक्षा सहित १०३ जना विद्यार्थी रहेका छन् । मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने यो धार्मिक विद्यालयमा बालकक्षा सहित ३ जना शिक्षक रहेका छन् । 

    फुलवारी आवि (१–५) देवदह ३ मा बालकक्षा बाहेक ४५ जना विद्यार्थी छन् । जहाँ शिक्षकको दरबन्दी बालबिकास सहित ५ जना रहेको छ । त्यस्तै लक्ष्मी आवि (१–५) देवदह १ मा बालकक्षा सहित शिक्षकको दरबन्दी ५ जना र बालकक्षा बाहेकको विद्यार्थी संख्या ७३ जना रहेको छ । त्यस्तै देवदह ३ मा रहेको कोटही आवि (१–८) को बालकक्षा बाहेक ५ कक्षासम्म ६६ जना र कक्षा ६–८ सम्म ५७ जना गरी जम्मा १२३ जना विद्यार्थी रहेका छन् । जहाँ शिक्षकको दरबन्दी बालकक्षा सहित ८ जनाको देखिन्छ । यसैगरी पेटबनिया आवि (१–५) देवदह २ मा बालकक्षा सहित ४ जनाको दरबन्दी रहेको छ । उक्त विद्यालयमा बालकक्षा बाहेक ६४ जना विद्यार्थी अध्ययनरत छन् ।

    यस्तै नगरपालिकाका आधारभूत तह (कक्षा १–८) वा (६–८) सञ्चालित विद्यालयहरु ५ वटा रहेकोमा देवदह १० स्थित कामधेनु संस्कृत गुरुकुलम् (६–८) परम्परागत र धार्मिक प्रकृतिको विद्यालय हो । जहाँ २१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । उक्त गुरुकुलमा एक जना राहत/करार दरबन्दीका शिक्षकबाट पढाई हुँदै आएको छ ।

    परम्परागत र धार्मिक विद्यालय वाहेक अन्य ४ वटा निम्न माध्यमिक तह सञ्चालित विद्यालयमध्ये देवदह ११ स्थित शंकर आवि (१–८)  र जनता आवि  (१–८) मा तुलनात्मक रुपमा धेरै विद्यार्थी रहेको पाईयो । जनतामा बालकक्षा बाहेक २१९ जना विद्यार्थी रहेका छन् । सो विद्यालयमा बाल कक्षा सहित ९ जना शिक्षकको दरबन्दी रहेको छ, भने शंकरमा बाल कक्षा बाहेक २४० विद्यार्थी रहेका र उक्त विद्यालयमा बालकक्षा सहित १० जना शिक्षकले अध्यापन गरिरहेका छन् । ३ वटा आधारभुत विद्यालय रहेको वडा नं ११ स्थित सकुन्धरा आवि(१–५) मा पनि विद्यार्थी संख्या कम देखिन्छ । सकुन्धरामा बालकक्षा बाहेक ३४ जना विद्यार्थीलाई अध्यापन गर्न बालकक्षा सहित ४ जना शिक्षकको दरबन्दी रहेको देखिन्छ ।

    त्यसैगरी कालिका आवि देवदह ६ सरनटाँडी, सरस्वती आवि देवदह ६ केउली, जनकल्याण आवि देवदह १० मुढाबास र सुकुन्धरादेवी आवि देवदह ११ भुतहवा अन्य विद्यालयको तुलनामा भौगोलिक रुपमा कठिन हुनुका साथै सहज र नियमित यातायातको पँहुचबाट टाढा छन् । उल्लेखित विद्यालयहरुमध्ये सरस्वती आवि हाल कक्षा ८ सम्म सञ्चाललित छ भनें अन्य विद्यालयहरु कक्षा ५ सम्म मात्र सञ्चालनमा रहेका छन् । राष्ट्रिय मापदण्ड अनुसार एक कक्षामा न्युनतम २० जना विद्यार्थी हुनुपर्नेमा यी सबै विद्यालयमा विद्यार्थी संख्या न्यून देखिन्छ ।

    प्रतिवेदन अनुसार अधिकांश विद्यालयले बालकक्षामा उमेर नपुगेका विद्यार्थीहरु भर्ना गरेर संख्या देखाउने काम गरेका छन् । बालविकासका विद्यार्थीहरुको उमेरगत अवस्थाको सम्बन्धमा विद्यालयसँग प्रमाणित विवरण माग गर्दा सो कुराको पुष्टी भएको कार्यदलका सदस्य सचिव समेत रहेका नगर शिक्षा अधिकृत परशुराम ढकालले बताए ।

    देवदह नगरपालिकाका सामुदायिक विद्यालयको शिक्षक–कर्मचारी दरबन्दी अन्तर्गत बालविकासतर्फ ४७, प्राथमिक तहमा २१४, निम्न माध्यमिक तहमा ८९, माध्यमिक तह (९–१०) मा ६८ र माध्यमिक (११–१२) मा १२ शिक्षकको दरबन्दी रहेको देखिन्छ । उल्लेखित दरबन्दीमा देवदह नगरपालिकाको नगर अनुदान शिक्षकको समेत तथ्याङ्क समावेश छ ।

    शिक्षक–विद्यार्थी अनुपातको अवस्था अध्ययन गर्दा देवदह नगरपालिकाको प्राथमिक र माध्यमिक तह (९–१०) मा शिक्षक धेरै र त्यसको तुलनामा विद्यार्थी संख्या कम देखिन्छ । त्यस्तै प्राथमिक र साविक उच्च माध्यमिक तहमा शिक्षक दरबन्दी अति कम र विद्यार्थीको संख्या धेरै रहेको तथ्याङ्क छ ।  

    प्राथमिक तह बाहेक अन्य तहमा विषयगत शिक्षक आवश्यक पर्ने भएकाले ती तहमा केवल शिक्षक विद्यार्थी अनुपात मात्र विष्लेषण गर्नु व्यवहारिक नहुने प्रतिवेदनमा उल्लेख छ । निम्न माध्यमिक र माध्यमिक तह (११–१२) मा विषयगत रुपमा न्यून शिक्षक दरबन्दी भएकाले प्राथमिक तहका शिक्षकले कक्षा १२ सम्मनै पढाउनुपर्ने अवस्था रहेको छ । 

    देवदह नगरपालिकाको शिक्षक दरबन्दी मिलान प्रतिवेदन २०७६ ले सबै तहमा देवदहका सामुदायिक विद्यालयमा कुल ९२ वटा शिक्षक दरबन्दी कम भएको तथ्यले देखाउँछ । यद्यपि आन्तरिक श्रोतबाट पारिश्रमिक व्यवस्थापन गर्नेगरी विद्यालयको शिक्षक नियुक्त गरेर अध्यापन गराइरहेको अवस्था छ । शिक्षकका कारण  पछिल्लो विद्यार्थी संख्याको आधारमा हेर्दा आधारभुत विद्यालयहरु समायोजन (मर्ज) गर्दा समेत शिक्षक दरबन्दी प्रयाप्त नहुने कार्यदलको निष्कर्ष रहेको छ ।
      
    कुन विद्यालय कहाँ समायोजन गर्ने ?

    समायोजन कार्यदलको प्रतिवेदनमा कुन विद्यालय कहाँ मर्ज गर्ने समेत सुझाइएको छ । जस अन्तर्गत उदय आधारभूत विद्यालय देवदह–७ र साईबाबा विद्यापिठ देवदह–६ लाई युगज्योति मावि देवदह–६ मा पूर्ण रुपमा समायोजन गर्न सकिनेछ । व्यास आधारभूत विद्यालय, देवदह–७ लाई सोही वडाको देवदह माविमा, फूलवारी आधारभूत विद्यालय देवदह–३ लाई सोही वडाको कोटही आधारभूत विद्यालयमा, पेटवनीया सामुदायिक आधारभूत विद्यालय, देवदह–२ लाई भविष्य निर्माण मावि देवदह–३ मा र शान्तिप्रिय आधारभूत विद्यालय, देवदह–४ लाई महामाया भवानी मावि, देवदह–४ मा पूर्ण रुपमा समायोजन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनले बालकक्षा सोही विद्यालयमै राखेर अन्य कक्षा समायोजन गरिने विद्यालयहरु समेत किटान गरेको छ । जस अन्तर्गत वडा नंं ९ मा अवस्थित सन्दिप आवि र लक्ष्मी आविको बाल कक्षा यथावत राखी अन्य कक्षालाई क्रमशः देवदह मावि र सरस्वती मावि देवदह १ मा समायोजन गर्नुपर्ने उल्लेख गरेको छ ।

    समायोजन समितिले कक्षा ३ वा ५ सम्म सोही विद्यालयमा राखी अन्य कक्षा समायोजन गरिने विद्यालय समेत प्रतिवेदनमा उल्लेख गरेको छ । जस अन्तर्गत जनकल्याण आविको बालकक्षा सम्बन्धित विद्यालयमा नै रहनेगरी बाँकी कक्षा सिता मावि, देवदह १० मा समायोजन गर्न सकिने जनाइएको छ । 

    यी हुन अस्तित्वमा रहने देवदहका आधारभुत विद्यालयहरु :

    समायोजन समितिको प्रतिवेदनमा सुकुन्धरादेवी आविलाई कक्षा ३ सम्म र सरस्वती आवि देवदह ६ लाई कक्षा ५ सम्म संचालनको अनुमति दिनुपर्ने सुझाब दिइएको छ । समितिले अन्य ५ वटा आविलाई यथावत राख्नुपर्ने जनाएको छ । जसमा मदरसा ईस्लामियाँ स्कुल, कालिका आधारभूत विद्यालय देवदह–६, जनता आधारभूत विद्यालय देवदह ११, शंकर आधारभूत विद्यालय देवदह ११ र कामधेनु संस्कृत गुरुकुल देवदह १० रहेका छन् ।

    विद्यालयले विद्यार्थी संख्या बढाउने र विद्यार्थीको नतिजा सुधार गर्ने प्रतिवद्धता गरेको खण्डमा एकपटक सुधारको अवसर दिनपर्ने र समायोजनलाई अवस्था र आवश्यकताको आधारमा एकैपटक वा चरणबद्ध रुपमा लागु गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएकोे छ । 

    समायोजनको आवश्यकता किन ?

    देवदह नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षक विद्यार्थी अनुपात, भौगोलिक अवस्था र जनसख्या विश्लेषण गर्दा अधिकांस आधारभुत विद्यालयहरु मर्ज गर्न आवश्यक देखिएको हो । विद्यार्थी संख्या कम भएकै कारण विद्यालय खारेज, कक्षा वा तह घटाउने र शिक्षक दरवन्दीको अभाव जस्ता समस्या हल गर्न समायोजनको विकल्प नभएको विद्यालय समायोजन तथा एकिकरण कार्यदलको ठहर छ । “विद्यालय खारेज गर्नु समस्याको समाधान होइन, बरु त्यसको गुणस्तर बृद्धिका लागि समायोजन उत्तम विकल्प देखियो । शिक्षामा बालबालिकाको समतामूलक पहुँचको सुनिश्चिततासहित मर्ज गरियो भने नगरकै शिक्षाको गुणस्तरमा बृद्धि हुन सक्छ ।” प्रतिवेदनमा उल्लेख छ ।

    समायोजन सम्बन्धमा कानुनले के भन्छ ?

    नेपालको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा महत्व दिइएको छ । संविधानको भाग ३ को धारा ३१ मा नागरिकलाई आधारभूत तहको शिक्षामा पहुँचको हक प्रदान गरिएको छ । राज्यले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चितता गरेको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११, उपदफा २ (ज) ले संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीमा राखेको आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याउने प्रयास गरेको छ । उक्त दफाले स्थानीय निकायलाई विभिन्न २३ वटा अधिकारहरु प्रदान गरेको छ । जसमा सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान तथा व्यवस्थापन, विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यालयको अनुमति, स्वीकृति, नियमन तथा समायोजन, सामुदायिक विद्यालयको जग्गाको स्वामित्व तथा संरक्षण, गाभिएका वा बन्द भएका विद्यालयको सम्पत्ति व्यवस्थापन, सामुदायिक विद्यालयलाई दिईने अनुदान तथा बजेट व्यवस्थापन लगायत अधिकारहरु रहेका छन् । 

    राष्ट्रिय शिक्षा नीति २०७६ ले मुलुकभर रहेका आधारभूत विद्यालयलाई विद्यालयको अवस्थिति, नक्साङ्कन, भौगोलिक अवस्था र सामाजिक न्याय हेरी समायोजन गरिने कुरा उल्लेख गरेको छ । देवदह नगरपालिकाको आ.व. २०८१÷०८२ को नीति तथा कार्यक्रममा विद्यालय मर्ज कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरिएको छ ।

    शिक्षा ऐन, २०२८ (संसोधन सहित) को दफा १५ मा तोकिएको अधिकारीले सञ्चालन भईरहेका कुनै विद्यालयलाई एक स्थानबाट अर्को स्थानमा सार्न वा दुई वा दुई भन्दा बढी विद्यालय गाभी एउटा विद्यालय कायम गर्नसक्ने व्यवस्था गरेको छ । शिक्षा नियमावली, २०५० को नियम १६२ को उपनियम १२ (क) मा ऐनले तोके बमोजिमको पूर्वाधार पुरा नभएको अवस्थामा र विद्यार्थी संख्या नपुगेका विद्यालयलाई समायोजन गर्न सकिने व्यवस्था गरेको छ ।

    नगर शिक्षा ऐन र कार्यविधी

    देवदह नगरपालिकाको नगर शिक्षा ऐन २०७४ को दफा २० मा ३० मिनटको हिँडाईको दुरी नजिकमा रहेको कुनै विद्यालयलाई विद्यार्थी संख्या, सेवा क्षेत्रको जनसंख्या, सम्बन्धित विद्यालयको सहमति र स्वीकृतिको आधारमा एक स्थानबाट अर्को स्थानमा सार्न सकिने उल्लेख छ । दुई वा दुई भन्दा बढी विद्यालयलाई गाभी एउटा विद्यालय कायम गर्न वा कुनै विद्यालयको कुनै तह हटाउन वा कुनै कक्षाको संचालन अनुमति रद्ध गर्न समेत नगर शिक्षा ऐनले अधिकार प्रदान गरेको छ । 

    त्यस्तै विद्यालय बन्द गर्न वा तोकिएको ठाउँ र क्षेत्रमा विद्यालय खोल्न, कक्षा थप गरी सञ्चालन गर्न अनुमति/स्वीकृति प्रदान गर्ने काम नगरपालिकाले गर्न सक्ने व्यवस्था छ । उक्त ऐनको दफा १० (झ) मा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने कर्तव्य नगर शिक्षा समितिको हो भनि उल्लेख गरिएको छ ।

    प्रतिवेदनले अपेक्षा गरेका उपलब्धि

    शिक्षालाई मौलिक हकको रुपमा ग्रहण गर्दै कार्यान्वयनमा जान सके स्थानीय सरकारको जिम्मेवारी बहन हुने प्रतिवेदनले देखाएको छ । विद्यालय मर्ज भएको अवस्थामा सबैका लागि शिक्षा, सहश्राब्दी विकासको लक्ष्य नं २ र दिगो विकासको लक्ष्य नं ४ का साथै नेपालले राष्ट्रिय र अन्तराष्ट्रिय फोरममा गरेका प्रतिबद्धता कार्यान्वयनको आधारशिला तय हुने देखिन्छ । यसैगरी शैक्षिक गुणस्तरमा सुधार भई सामुदायिक विद्यालयप्रति अभिभावक विश्वस्त हुने र सामुदायिक तथा संस्थागत विद्यालयविचको नतिजामा देखिएको अन्तर समेत प्रतिवेदन कार्यान्वयनसंगै कम हुने अपेक्षा गरिएको छ ।

    त्यस्तै विद्यालयमा आधारभूत पूर्वाधार विकासमा सहजता, न्यून दरबन्दीयुक्त विद्यालयमा थप शिक्षक दरबन्दी उपलब्धता, स्थानीय तहले शिक्षकको तलव भत्तामा खर्च गर्नुपर्ने ठूलो रकम बचत भई अन्य रचनात्मक र नवप्रवद्र्धनात्मक शैक्षिक योजना तथा क्रियाकलापमा खर्च गर्न सकिने कुरालाई प्रतिवेदनले अवसरको रुपमा लिएको छ । विद्यालय मर्जसंगै निजीस्रोतका शिक्षक व्यवस्थापनमा विद्यालय र अभिभावकको आर्थिक दायित्व घट्ने र विद्यालय अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी हुने कार्यदलको ठहर छ ।

    यस्ता छन् प्रतिवेदनमा उल्लेखित समायोजनका चुनौतीहरु

    विद्यालय मर्जका लागि कार्यदलले प्रतिवेदन तयार गरेर नगर शिक्षा समितिलाई बुझाएपनि विद्यालय मर्जप्रति सरोकारवालाहरुको ऐक्यवद्धता जुटाउनु सबैभन्दा चुनौती देखिन्छ । समायोजन तथा एकीकरण भएका सबै विद्यालयको सेवाक्षेत्रमा सँधै सामुदायिक विद्यालयको सवारी साधन पुग्ने सुनिश्चितता पनि चुनौतीपूर्ण हुनसक्छ । सवारी साधन प्रयोग गरेवापत विद्यालयले शुल्क लिने हुँदा अभिभावकमा अतिरिक्त आर्थिक दायित्व बढ्न सक्छ । समायोजन तथा एकिकरण पश्चात मर्ज हुने विद्यालयको जग्गा र भौतिक संरचनाको प्रयोग एवम् संरक्षण गर्ने विषय समेत उत्तिकै जटिल छ ।

    त्यति मात्र होइन, कुनैपनि क्षेत्रमा संचालित विद्यालयलाई उक्त क्षेत्र÷समुदायले आफ्नो सम्पत्तिको रुपमा हेर्छ र प्रतिष्ठाको रुपमा लिनेगर्छ । जसले गर्दा विद्यालयको अस्तित्व नै मेटिने गरी समायोजन हुने विषयलाई स्थानीयले सहज रुपमा नलिन सक्छन् । यस प्रकारका विचारहरु प्रतिवेदन सार्वजनिक नहुँदै सतहमा आइसकेका छन् । जसको उदाहरणको रुपमा सरस्वती आधारभुत विद्यालय देवदह ६ केउलीलाई लिन सकिन्छ । जनप्रतिनिधिकै रोहबरमा आमभेला मार्फत विद्यालय मर्ज प्रकृया प्रति उनीहरुले असहमति जनाएका छन् । नेकपा एमालेका वडा इन्चार्ज समेत रहेका विद्यालय व्यवस्थापन समिति सदस्य विष्णु बरालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै 'घाम पानी नभनी २०४२ सालमा स्थापना भएको विद्यालयलाई विद्यालयको हित विपरीत प्रहार गर्न खोजिए प्रतिकार गरिने जनाएका छन् । भेलाको तस्विर समेत सार्वजनिक गर्दै उनले आफुहरुसँग समन्वय नगरी तयार पारीएको प्रतिवेदन अस्वीकार्य हुने उल्लेख गरेका छन् ।'

    विद्यालय समायोजन आवश्यकता हो । यसबाट राज्यलाई पर्न जाने अनावश्यक आर्थिक भार कम हुनेछ । समायोजनसंगै शिक्षक, विद्यार्थी र विद्यालयको वैज्ञानिक व्यवस्थापन समेत हुनेछ । तर विद्यालय समुदायको भावनासँग जोडिएको विषय पनि हो । मात्र आर्थिक र कानुनी पक्षलाई आधार मानेर समायोजन प्रकृयामा जाँदा विद्यालयको दिगो व्यवस्थापनमा समस्या आउन सक्छ । त्यसैले सरोकारवाला पक्षहरु विचको छलफल, बुझाइमा एकरुपता र ठोस योजना सहित अघि बढ्न जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।