हिन्दु नारीहरुले तीजको पञ्चमीका दिन खाने दतिवन वा अपामार्ग एक बहुउपयोगी जडिबुटी हो । यो वर्षायाममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दाँत माँझ्न पनि प्रयोग गरिने भएकाले यसलाई दतिवन पनि भनिन्छ । दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दाँत माझ्ने गरिन्छ । दतिवनको पात, फूल, जरा, बीउ, डाँठ लगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ । पहिले ऋषिमुनीहरुले यसको दानाको खीर पकाएर खाएर अनि बल्ल तपस्या गर्ने गर्थे भनेर परापूर्व कालदेखि आयुर्वेदमा मान्दै आइएको छ ।
नेपालमा यसलाई ठाउँ अनुसार अपमार्ग, अपाङ, उल्टेकुरो, जम्जिते इत्यादि विभिन्न नामले चिनिने गरिन्छ । यो जडिबुटी एकदमै लाभकारी मानिन्छ । सपेराहरुले यो जडिबुटीलाई सर्पको विष मार्ने बिरुवा भनेर मान्ने गर्छन् । मुखदेखि मलद्वारसम्म विभिन्न समस्यामा उपयोगी मानिने यो जडिबुटी हिन्दु नारीहरुले तीजको पञ्चमीको दिन ३६५ वटा खाने गर्दछ्न् । वास्तवमा यो ३६५ वटा एकैदिन खानु स्वास्थ्यका लागि राम्रो होइन । यसरी खाँदा मुखमा कोतरेर घाउ हुनुका साथै झन् असर गर्न सक्छ । हरेक दिन एउटा खाँदा बल्ल यसबाट धेरै फाइदा लिन सकिन्छ ।
अपमार्गका पाँच फाइदा :
१. गिजा सम्बन्धी समस्यामा यस्ले राम्रो काम गर्छ । गिजाबाट रगत आउने, मुख दुर्गन्धित हुने, श्वास गन्हाउने समस्यामा यसको हाँगा र जरा चपाएर खाँदा वा दतिवन गर्दा राम्रो फाइदा गर्छ ।
२. घाँटी सम्बन्धी समस्या तथा टन्सिलको समस्यामा पनि यो अति उपयोगी मानिन्छ। यस्को जरा वा छिप्पिएको हाँगा थिचेर रस खाने अथवा पकाएर पानी खान सकिन्छ ।
३. पेट सम्बन्धी समस्यामा पनि यसको महत्त्वपूर्ण उपयोगीता रहेको छ । जुका चुर्ना परेको समस्या, खाना अरुचि भएमा, उक्क उक्क हुने, बेगार परेको आदि समस्यामा पनि यो अति नै उपयोगी मानिन्छ ।
४. महिला तथा पुरुषहरूको प्रजनन समस्या अथवा सेतोपानी बग्ने समस्यामा पनि यो एकदमै उपयोगी जडिबुटी मानिन्छ ।
५. पाएल्सको समस्यामा पनि यसले राम्रो काम गर्छ ।
वर्षायामको सबै काम सकेर तीजको मीठोमीठो परिकारहरु र चिल्लो दर खाएर उम्किसकेपछि पञ्चमीको दिन यो खानु भनेको खेतीपातीको कामबाट भएको कमजोरी र शारीरिक समस्याबाट छुटकारा पाउनको लागि खाइएको एउटा मुख्य कारण पनि हो । पहिलेका जमानामा नारीहरुले वर्षभरी काम गरेर वर्षमा एक पटक मात्रै खाएर बनेको यो नियम वास्तवमा राम्रो होइन । त्यसकारण हरेक दिन एउटा आँख्ला खाने र विशेष समस्या छ भने जरा र छिप्पिएको हाँगा थिचेर रस खाने या यत्तिकै चपाएर खाने या पानीमा पकाएर मात्रा मिलाएर खाने गरेमा अपमार्गबाट धेरै लाभ प्राप्त गर्न सकिन्छ । यसको पात पानीमा पकाएर नुहाउँदा छाला सम्बन्धी समस्यामा राम्रो काम गर्छ ।
घरमा फूलहरु मात्रै लगाउने होइन । यस्ता बहुउपयोगी जडिबुटीलाई हरेक घरमा लगाउने र खाने गरेमा हामी धेरै हदसम्म स्वस्थ रहन सक्छौँ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology