राजेश पराजुली, पोखरा । कास्की जिल्ला प्रशासनले तीजलाई खर्चिला र सामाजिक सद्भावमा असर पुराउने भड्कीलो बनाए कारबाही गर्ने जनाएको छ ।
कास्कीका सहायक प्रजिअ गंगाबहादुर क्षत्रीले बिहीबार सूचना जारी गर्दै तीजको मौलिकतामाथि आँच आउने र खर्चिलो तथा तडकभडक गरि तीज मनाएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
हरितालिका तीजको दिन निराहार ब्रत बस्ने र त्यसको एकदिन अगाडि दर खाने मौलिक परम्परा विपरीत तीज आउनुभन्दा अगाडिदेखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राती अबेरसम्म तडकभडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, ध्वनि प्रदूषण हुनेगरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्ने सूचनामा उल्लेख छ ।
‘त्यसैले आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पु¥याउने खालको भड्किला कार्यक्रम तथा क्रियाकलाप नगर्न, नगराउनु हुन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ’ सूचनामा भनिएको छ, ‘यस सूचनाको बर्खिलाप हुनेगरी भए गरेका कार्यक्रमहरुको प्रशासनबाट सुक्ष्म निगरानी राखी सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली २०३३ र अन्य प्रचलित कानुन अनुसार कारवाही हुने छ ।’
सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था र महिला संजाल तथा जिल्लाबासीबाट सहयोगको अपेक्षा पनि प्रशासनले राखेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology