देवदह । नवलपरासीको सुनवल नगरपालिका -७ तरगौलीमा रहेको देवदह तालमा माछाका भुरा छाडिएको छ । वडा कार्यालयले बिहीबार ताल संरक्षण र सौन्दर्यकरण गर्ने भन्दै २० हजार माछाका भुरा छोडेको हो ।
रुपन्देहीको छपिया माछा प्रजनन केन्द्रबाट ग्रास क्रार्प प्रजातिका माछाका भुरा ल्याइएको वडा कार्यालयले जनाएको छ ।
सुनवल नगरपालिका वडा नं ७ का अध्यक्ष नारायण आचार्यका अनुसार उचित संरक्षण तथा सम्वर्द्धनको अभावमा ऐतिहासिक प्राकृतिक ताल ओझेलमा परेकोले ताललाई वडा र स्थानीय मिलेर संरक्षण गरेको बताए । उनले तालको विकासका निम्ति पहिलोचरणमा जलकुम्बी र घाँस हटाएर ताल सफा गरिएको बताउदै दोस्रो चरणमा माछाको भुरा छाडिएको बताए ।
आचार्यले पर्यटकीय सम्भावना बोकेको तालको संरक्षण गर्दै निकट भविस्यमा वडाले स्थानीयको सहयोगमा तालमा डुङ्गा चलाउने समेत जानकारी दिए ।
एतिहासिक देवदह तालमा माछाका भुरा छाडिएसँगै वडाले तालमा जाल हान्ने, ढडिया थाप्ने, करेन्ट लगाउने, विषादी हाल्ने जस्ता तरिकाले माछा मार्नसमेत बन्द गरेको जनाएको छ ।
वडाले जिल्ला प्रशासन कार्यालय, पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको कार्यालय र सुनवल प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
वडाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुन बमोजिम कारबाही गरिने वडा कार्यलय जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology