देवदह । देवदह नगरपालिकाले कक्षा ११ र १२ को कक्षा दिउँसोमा संञ्चालन गर्ने निर्णय गरेसंगै देवदहमा विद्यार्थीको संख्या घट्ने देखिएको छ । गत शैक्षिक सत्रदेखि लागु गरिएको यो ब्यवस्थाका कारण यस क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीको संख्या घट्ने देखिएको हो ।
शैक्षिक सत्र २०७८÷०७९ मा देवदहका सामुदायिक र संस्थागत विद्यालयमा १ हजार ५१ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएको र ०७९÷०८० मा यो संख्या १ हजार ८२ थियो । ११ कक्षाको भर्नादर पछिल्लो २ बर्षमा उकालो लागेको देखिएपनि २०८० भदौबाट नगरले दिवा सेसन अनिवार्य गरेपछि चालु शैक्षिक सत्रमा विद्यार्थीको संख्या अत्यधिक घट्ने देखिएको विद्यालयले जनाएका छन् ।
कक्षा ११ र १२ लाई दिवा सेसनमा संचालन गर्ने निर्णयले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई क्षती पु¥याएको देखिन्छ । संस्थागत विद्यालयमा विहानी सेसनमा कक्षा संचालन हुँदा ५ सय भन्दा बढि विद्यार्थी रहेकोमा दिवा सेसनमा प्रवेश गरे संगै त्यो संख्या घटेर २०२ मा झरेको छ ।
सामुदायिक तर्फको अवस्था पनि घट्दो देखिन्छ । गतबर्ष बिहानी सत्रमै कक्षा संचालन गर्नेगरि विद्यार्थी भर्ना गरिएपनि भदौबाट दिवा सत्रमा जान नगरले अनिवार्य गरेपछि अधिकांश विद्यार्थी असन्तुष्ट भएको र यो बर्षको हालसम्मको भर्नादरले विद्यार्थी संख्यामा भारी मात्रामा कमि आउने देखिएको हिसान रुपन्देहीका सदस्य कृष्णप्रसाद गैरेले बताए । विद्यार्थीले आफुले पढ्ने सेसन आफै छनौट गर्न पाउनुपर्नेमा नगरले गरेको अदुरदर्शी निर्णयको शिकार विद्यार्थी र यहाँका विद्यालयहरु बन्न पुगेको गैरेको भनाई छ ।
यता सामुदायिक विद्यालयको अवस्था पनि उस्तै देखिन्छ । पुरक परिक्षाको नतिजा आईनसकेको अवस्थामा सम्पूर्ण तथ्याङ्क नआएपनि यस क्षेत्रको नमुना विद्यालय केरवानी माविमा अहिलेसम्मको भर्ना तथ्याङ्कलाई हेर्दा ५० जना विद्यार्थी पनि यो बर्ष कक्षा ११ मा भर्ना नहुने देखिएको प्राचार्य निर्मल ढुङ्गानाले बताए । ढुङ्गानाका अनुसार गतबर्ष केरवानीमा १ सय ४७ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए ।
यसैगरि गतबर्ष ४७ जना विद्यार्थी भर्ना भएको जनप्रिय माध्यमिक विद्यालयमा यो बर्ष ४ जना मात्र विद्यार्थी भर्ना भएको विद्यालयका प्राचार्य गायत्रीप्रसाद खरेलले जानकारी दिएका छन् । पुरक परिक्षामा उत्तिर्ण भएपनि त्यो संख्या केहि बढेपनि ११ र १२ संचालनका लागि हम्मेहम्मे पर्ने खरेलले बताए ।
सिक्टहन माविमा यो बर्ष ९ जना मात्र विद्यार्थी भर्ना भएका छन् । पुरक परिक्षाको नतिजा पछि बढिमा २० जनासम्म विद्यार्थी भर्ना हुन सक्ने विद्यालयका शिक्षक दुधनाथ कुँवरले बताए । सुरुवातदेखि नै दिवा सेसन चलाएको सिक्टहन माविले नगरको निार्णयले आफुहरुलाई खासै असर नपरेको जनाएको छ । उनले विद्यार्थी संख्या कमि भएका कारण अध्यापनका लागि अतिरिक्त शिक्षक ल्याउन नसकिएकाले विद्यालयकै शिक्षकबाट अहिले सम्म कक्षा संचालन गरिरहेको जानकारी गराए ।
गतबर्ष कक्षा ११ मा ४५ जना विद्यार्थी भर्ना गराएको देवदह माविमा यो बर्ष हालसम्म १० जना विद्यार्थी मात्र भर्ना भएको प्राचार्य हरिप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार दिउसोमा अध्यापन गराउनै पर्ने नगरको बाध्यकारी निर्णयका कारण विषयगत हिसाबले योग्य शिक्षक नपाउने समस्या एकातिर छ भने अर्को तर्फ विद्यार्थीको रुची पनि विहानी सेसनमा बढि देखिन्छ ।
विज्ञान विषयको पढाई अन्योलमा
देवदह नगरले ११ र १२ कक्षा दिउसोको सेसनमा चलाउन निर्देशन दिएसंगै देवदहका विज्ञान विषय अध्यापन गर्ने कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । छिमेकी सुनवल तिलोत्तमा नगरपालिका तथा बुटवल उपमहानगरपालिकामा विहानमा समेत ११ र १२ का कक्षा संचालन भइरहेकाले देवदहका विद्यार्थीहरु त्यसतर्फ लागेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) रुपन्देहीका सल्लाहकार कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार ठुलो लगानीमा विज्ञान ल्याव समेत निर्माण गरेका ग्रिनप्लान्ट र सगरमाथा आवासिय माविले दिवा सेसनमा पढ्ने विद्यार्थी नपाएपछि विज्ञान विषय बन्द गरेको पौडेलले बताए ।
यता सामुदायिक तर्फ बिज्ञान विषय अध्यापन हुने एक मात्र विद्यालय केरवानी माध्यमिक विद्यालयमा यो बर्ष हाल सम्म ३ जना मात्र विद्यार्थी भर्ना भएका छन् । पुरक परिक्षापछि पनि बिज्ञान विषय अध्ययन गर्न विद्यार्थी आउने अवस्था कम रहेकाले उक्त विषय पढाउने कि नपढाउने भन्नेमा अन्यौल बढेको केरवानी माविका प्राचार्य निर्मल ढुङ्गानाले बताए ।
विद्यालयले गुणस्तरमा ध्यान दिनुपर्छ, निर्णयबाट पछि फर्कने अवस्था छैन : नगरप्रमुख खरेल
देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले ११ र १२ कक्षालाई राज्यले माध्यमिक तहमै राखेको हुँदा दिवा सेसनले विद्यार्थीलाई फरक नपार्ने बताए । देवदह नगरपालिका समग्र नगरको शैक्षिक गुणस्तरप्रति चिन्तित रहेको उल्लेख गर्दै उनले शिक्षाको अवस्थालाई सुधार गर्न दिवा सेसले सहयोग पु¥याउने दावी गर्छन् । खरेल भन्छन् “यो बर्ष एसइई परिक्षामा समेत देवदहको नतिजा खस्किएकाले विद्यालयहरुले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेछ ।” नगर प्रमुख खरेलले विद्यार्थी बढि उत्तिर्ण गराउन सके कक्षा ११ मा स्वत: विद्यार्थी बढ्ने समेत उल्लेख गरे ।
विद्यार्थी कम भर्ना भएको प्रति लक्षित गर्दै उनले यो बर्ष देवदहका विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या अध्ययन गरिने र अर्को बर्ष संख्या कम भएका विद्यालयलाई मर्ज गरेर भएपनि कक्षा संचालन गरिने नगरप्रमुख खरेलले बताए । ११ र १२ कक्षालाई कलेजको रुपमा बुझेका कारण पनि कतिपय विद्यार्थीहरु अन्यत्र गएको हुन सक्ने भन्दै नगर प्रमुख खरेलले भने “पत्रकार, शिक्षक र शिक्षासंग जानकारहरुले समेत यो भ्रमलाई चिर्न सहयोग गर्नुृपर्छ ।”
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार कक्षा ११ र १२ का लागि वाषिर्क २७ पाठ्यघण्टा अर्थात वाषिर्क आठ सय ६४ कार्यघण्टा पाठ्यभार तोकेको छ । पाठ्यक्रम विकास केन्द्रले तोकेको समय अनुसार एउटा सत्रमा कम्तिमा ५ घण्टा २० मिनेट पढाउनु पर्ने हुन्छ ।
शिक्षा महाशाखाले दिवा सत्रमा मात्र पढाइ सञ्चालन गर्न भन्दै २०७८ फागुन २० गते लिखित निर्देशन जारी गरेपनि सबै स्थानिय निकायले यसलाई कार्यान्वयनमा नल्याउँदा देवदहका ११ र १२ कक्षा संचालन गर्ने विद्यालयहरु शैक्षिक जानकारहरु बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology