दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले विभेदमा पारिएका समुदायको भाषा, संस्कृति, लिपि, चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संरक्षण र प्रर्वद्धनमा ध्यान दिन जरुरी रहेको बताएका छन् । अठार मगराती समुदायले मनाउने भुमे पर्वको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले सबै जातजाति भाषाभाषीहरुको मौलिक सांस्कृतिक रितिरिवाज र चाडपर्व राष्ट्रको सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
जारी सन्देशमा भनिएको छ, "विगतमा राज्यद्धारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा महत्वपूर्ण नीति र कानुन निर्माणमा प्रतिवद्ध रहेको छ । राजनीतिक परिवर्तन, आर्थिक समृद्धि र सांस्कृतिक रुपान्तरणका लागि भएका विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा मगर समुदायले खेलेको भूमिकाको उच्च सम्मान गर्दछु ।"
भुमे पर्वको मुख्य अर्थ मगरात गणराज्यको सामुहिक जीवनशैली र सामुहिक विचार भएको उल्लेख गर्दै उनले पुर्खादेखि चलिआएको संस्कार, संस्कृति तथा परम्परालाई जोगाउनका लागि यस प्रकारको चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
बाह्र मगरात र अठार मगरात सभ्यता र मगर इतिहासका मगराती संस्कार र संस्कृतिहरु मध्ये अठार मगराती समुदायको मुख्य पर्वमा आफू बसेको ठाउँको भूमि एवं प्रकृतिको पूजा गर्ने प्रचलन छ ।
लुम्बिनी प्रदेशको रुकुम, रोल्पा, प्युठान र दाङका अठार मगरात क्षेत्रमा महिला पुरुष सामुहिक रुपमा बाजाको तालमा नाचेर यो पर्व धुमधामका साथ मनाईन्छ ।
यसको मुख्य केन्द्र रोल्पा जिल्लाको थवाङ्ग मिरुल, कुरेली, उवा र जेलवाङ्ग हुन भने पुर्वी रुकुम जिल्लाको महत, काक्री, तक, सेरा, हुकाम र मैकोट क्षेत्र पर्दछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology