देवदह । नेकपा (माओवादी केन्द्र) देवदहले संगठन विस्तारलाई तिव्रता दिएको छ । एकता र विभाजनको लामो शृङ्खलाले व्यवस्थित हुन नसकेको संगठनलाई व्यवस्थित र विस्तार गर्ने केन्द्रिय नीति अनुसार पार्टी तथा जनवर्गीय संगठन विस्तारमा पार्टीले ध्यान केन्द्रित गरेको हो ।
केन्द्रको निर्देशन अनुसार पार्टीका सबै तह र तप्कालाई पुनर्गठन गर्ने कार्यमा नगरपार्टी अगाडि बढेको सो पार्टीका नगर संयोजक केदार काफ्लेले बताए । सोही क्रममा शनिबार देवदह २ र ३ को वडा भेला गरेर वडा कमिटी गठन गरीएको उनले बताए । 
उक्त पार्टीले वडा नम्बर २ मा किशोर काफ्ले अध्यक्ष र घनश्याम गिरी सचिव रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । त्यसैगरी रघुनाथ भर अध्यक्ष र दिपेश सापकोटा सचिव रहनेगरी ३५ सदस्यीय वाई.सि.एल को वडा कमिटी पनि गठन गरीएको पार्टीले जनाएको छ ।
यता, वडा नम्बर ३ मा चुणामणी भारती अध्यक्ष र ऋषिराम चौधरी र ७ जनाको सचिवालय रहने गरी २९ सदस्यीय वडा कमिटी गठन गरीएको छ । 
वार्ड भेलालाई सम्बोधन गर्दै योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालका पुर्व जिल्ला इन्चार्ज तथा नेकपा माओवादी केन्द्रका युवा नेता सुजित बिकले पार्टी संगठनलाई मजबुद बनाएर अघि वढ्न कार्यकर्तालाई निर्देशन दिए । माओवादीले दश बर्षे जनयुद्ध गरेका कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र राज्यका हरेक निकायमा शोषित उत्पिडित बर्गको सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै सोही एजेण्डालाई लिएर जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरे । नेता बिकले टुटफुट र एकताका कारण अन्यौलता सृजना भएको भन्दै अब तल्लो तहसम्म संगठन विस्तार गर्नु पर्नेमा जोड दिए । उनले माओवादी आन्दोलन सफल हुनुमा युद्ध गर्नेहरु संगै खाना ख्वाउने र बास दिने आम नेपालीको पनि महत्वपूर्ण भुमिका रहेको बताए । उनले जनयुद्धका घाइते अपाङ्ग र शहिदको सपना पुरा गर्ने महत्वपूर्ण कार्यभार अबको नयाँ पुस्तामा आएकाले थप सशक्त ढंगले अघि वढ्न आग्रह गरे । 
शहिद परिवारलाई सम्मान समेत गरीएको उक्त
भेलामा माओवादी नेताहरु लेखनाथ न्यौपाने, बिष्णु पाण्डेय, केदार काफ्ले, गणेश खाती र तुल्सिराम न्यौपानेलेले बोलेका थिए ।
सर्वोच्च अदालतले माओवादी र एमाले छुट्याइदिएपछि माओवादीले संगठन निर्माणलाई तिव्रता दिएको हो । पछिल्लो समय संघियता गणतन्त्र र धर्मनिरपेक्षता समावेशी समानुपातिक राज्य प्रणाली जस्ता माओवादीले उठाउँदै आएका प्रमुख मुद्धाहरु विभिन्न शक्ति केन्द्रले उल्ट्याउने प्रयास गरीरहँदा विभिन्न स्वार्थका कारण टुक्रा टुक्रामा विभाजित माओवादी पार्टीहरु बिच एकता हुनु पर्नेमा कार्यकर्ताहरुले जोड दिएका छन । देशमा पुनः माओवादीको रातो झण्डा फराउने उद्घोष गर्दै नेता तथा कार्यकर्ताले मिलेर अघि वढ्न नेतृत्वलाई चर्को दबाव दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology