देवदह । आर्थिक बर्ष २०८०÷८१ मा देवदह नगरपालिकामा सम्झौता भएका मध्ये करिव ३ दर्जन योजनाहरुको कार्य सम्पन्न गर्ने म्याद सकिएको पाइएको छ । आर्थिक बर्ष सकिन २ महिनाभन्दा कम समय बाँकी रहँदा सम्झौताको मिति सकिएका २ करोड २६ लाख रुपैंया भन्दा बढि रकमका ति योजनाको भुक्तानी हालसम्म हुन सकेको छैन । नगरका बिभिन्न वडामा उपभोक्ता समिति गठन भई सम्झौता भएका ७० हजार देखि ५२ लाख रुपैंयासम्मका योजनाहरुको कार्यसम्पन्न गरिसक्नुपर्ने म्याद सकिएको तथ्यांकले देखाएको छ ।
यसरी म्याद सकिएपनि समयमा कार्यसम्पन्न प्रतिवेदन नबुझाउने र भुक्तानी लिन नआउनेमा वडा नं ४ का योजनाहरु सबैभन्दा बढि छन् । वडा नं ४ का ७ वटा योजनामध्ये एउटाले म्याद थप गरेपनि अन्य ६ वटा योजना म्याद गुज्रिएको अवस्थामा रहेका छन् । त्यसैगरि वडा नं ५ का ६ वटा योजनाहरु समयमा काम सम्पन्न गर्न नसक्ने सूचिमा परेका छन् । कार्य सम्पन्न गर्ने म्याद सकिएपनि उक्त वडाका कुनै पनि उपभोक्ता समितिले म्याद थप गरेका छैनन् । त्यस्तै वडा नं १० का ५ वटा, वडा नं ७ र ११ का ३÷३ वटा, तथा १, ९ र १२ नं वडाका २÷२ वटा योजनाको म्याद गुज्रिएको छ । यो विचमा वडा नं १० को एउटा योजनाको म्याद २ पटक सम्म थप गरिए पनि उक्त योजनाको भुक्तानी लिन उपभोक्ता समिति हाल सम्म पनि नगरपालिका नपुगेको देखिन्छ ।
यसैगरि वडा नं २, ३ र ८ का एक÷एक वटा उपभोक्ता समितिले पनि समयमा काम सम्पन्न गर्न सकेनन् । वडागत हिसावले बिनियोजन भएका ३५ योजना मध्ये ६ वटा उपभोक्ता समितिले मात्र समयमा काम सम्पन्न गर्न नसकेकाले म्याद थपको निवेदन दिएका छन् । यसै आर्थिक बर्षको बिभिन्न मितिमा योजना सम्झौता भई जेठ ७ गते सम्म काम सम्पन्न हुनुपर्ने ति योजनाको कार्य सम्पन्न प्रतिवेदन समयमा प्राप्त नहुँदा भुक्तानिमा समस्या भएको देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । सापकोटाका अनुसार यो आर्थिक बर्षमा निति तथा कार्यक्रमले उल्लेख गरेका ६ सय १४ वटा सबै योजना सम्झौता भएका छन् । तर ति योजना समयमा सम्पन्न हुन नसक्दा आर्थिक बर्षको अन्त्यमा समस्या पर्न सक्ने सापकोटाको भनाई छ । देशभरका ७ सय ५३ वटा स्थानिय निकायले एउटै सर्भरबाट योजनाको काम गर्ने भएकाले असारमा सर्भर डाउन हुन सक्ने सम्भाना रहेकाले पछि भुक्तानीमा समस्या आउन सक्ने सापकोटाले बताए ।
ठेकेदारी प्रथालाई निरुत्साहित गर्दै समयमै काम सम्पन्न गर्ने र काममा गुणस्तरीयता कायम गर्ने उद्धेश्य सहित यसपटक नगरले ५० लाख भन्दा बढिको योजना समेत उपभोक्ता समितिलाई दिएको देखिन्छ । तर बिभिन्न समस्याका कारण त्यस्ता ठुला योजना पनि यस आर्थिक बर्षमा सम्पन्न हुनेमा आशंका बढेको छ । नगरको वडा नं ४ मा नालि र ईन्टरलक ब्लकको काम गर्ने गरि बिनियोजित ५२ लाख रुपैंया बराबरको बजेट उपभोक्ता समितिले चैत मसान्तभित्रै सम्पन्न गर्नेगरि सम्झौता गरेको भएपनि अहिले सम्म काम सम्पन्न हुन सकेको छैन । न त उक्त समिति सम्झौता थप गर्न नगरपालिकानै गएको छ ।
वडाअध्यक्ष दमननाथ रेग्मीका अनुसार उक्त योजनाको कार्य स्थलमा परेका विद्युतिय पोल सार्नका लागि विद्युत प्राधिकरणले सहयोग नगर्दा समयमा काम सम्पन्न हुन नसकेको हो । करिव ४ महिना अघि विद्युत पोल सार्नका लागि उपभोक्ता संग रकम संकलन गरी ६२ हजार रुपैंया भन्दा बढि प्राधिकरणमा राजस्व बुझाएपनि अहिले सम्म काम हुन नसकेको रेग्मीले बताए ।
उपभोक्ता समितिलाई योजनाको जिम्मा लगाईए पनि कतिपय अवस्थामा नगरकै ढिलासुस्ती र लापरवाहिले योजनाको रकम निकासा हुन नसकेको देखिन्छ । वडा नं ९ मा १० लाख रुपैंया बजेट बाट निर्माण भएको नालाको काम सकिएको १५ दिन बितिसक्दा पनि रकम निकासा हुन सकेको छैन । नगरबाट समयमा अनुगमन हुन नसक्दा भुक्तानी पाउनुपर्ने रकम अहिले सम्म नपाएको नागथानपथ नाली निर्माण उपभोक्ता समितिका अध्यक्ष इश्वरी भण्डारीले गुनासो गरे ।
त्यस्तै वडा नं ६ उजेरीमा संचालित होमस्टेको पूर्वाधार विकासका लागि बिनियोजित २४ लाख रुपैंया बजेटको सम्झौता समेत सकिएको छ । २०८० माघ ४ गतेका दिन ४ महिनामा कार्यसम्पन्न गर्नेगरि सम्झौता भएको उक्त योजना समेत समयमा भुक्तानी लिन नसक्ने योजनाको सुचिमा परेको छ । योजना उपभोक्ता समितिका अध्यक्ष बिष्णु बरालका अनुसार पछिल्लो क्रममा मौसमका आएको परिवर्तनको कारण समयकै काम सम्पन्न हुन नसकेको हो । तर ४ महिना अघि सम्झौता भएको कामलाई अहिले आएर मौसमको कारण देखाईनु उपभोक्ता समिति समेत समयमै काम सम्पन्न गर्नतर्फ सक्रिय नदेखिएको हो कि भन्ने देखिन्छ ।
यसैगरि वडा नं ६ मै रहेको ४० लाख रुपैंयाको नालि निर्माणको काम समेत समयमा सम्पन्न हुन सकेको छैन । नाली निर्माण स्थलमा खानेपनीको पाईप परेको र खन्ने क्रममा उक्त पाईप पटक पटक काटिने समस्याले काममा ढिलासुस्ती भएकाले समयमा काम हुन नसकेको उक्त समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए ।
नगरका कर्मचारीहरु कार्यालयमा नियमित नभेटिदा सम्पन्न भएका योजनाको भुक्तानी समयमा पाउन नसकेको कतिपय उपभोक्ता समितिका अध्यक्षहरुको गुनासो छ । वडा नं ५ मा रहेको कोटिया माई जेष्ठनागरिक मिलन स्थल चौतारी उपभोक्ता समितिका अध्यक्ष महेश गैरे योजना सम्पन्नपछिको रकम निकासाका लागि आफु नगरमा पुगेपनि कहिले प्रमुख प्रशासकिय अधिकृत नभेटिने, कहिले ईन्जिनीयर कार्यकक्षमा नहुने, कुनैदिन लेखा शाखा खाली हुने ! यस्तो समस्याका कारण आफु जस्तै धेरै समितिका पदाधिकारी समस्यामा पर्ने गरेको उनको भनाई छ ।
यता नगरले भने आफुहरुसंग आएका कुनैपनि फाईल नरोकेको र समयमै भुक्तानीका लागि समन्वय गर्ने गरेको दावी गर्छ । योजना अनुगमन समितिका संयोजक तथा कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गले आफुले वडाबाट आएका कुनैपनि फाईल नरोकेको र योजना शाखाबाट केहि कमजोरी भएको भए त्यसलाई सच्चाएर लैजाने जानकारी गराईन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology