पाल्पा । दारी ग्याङ पाल्पाको आधिकारिक प्रथम भेला शनिबार सम्पन्न भएको छ । सामाजिक अभियन्ता एवम् ता.न.पा.- १ का वडा सदस्य शिव थापाको अध्यक्षतामा भएको भेलाले रवि बस्नेत संयोजक र जनक नेपाल सह संयोजक रहेको २५ सदस्यी दारी ग्याङ पाल्पा गठन गरेको छ ।
साथै सल्लाहकारमा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, सामाजिक अभियन्ता शिव थापा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष भोजराज भट्टराई, प्रविधि व्यवसायी राम भट्टराई रहेका छन् ।
कार्यक्रमको अवसरमा विभिन्न जिल्लामा रगत अभाव भएका बिरामीलाई रक्तदान, नगर सरसफाई, विपन्न समुदायमा न्यानो कपडा तथा खाद्यान्न वितरण लगायत व्यक्ति निर्माण सँगै सोंचको गुणात्मक गतिशीलताको आधारमा सामाजिक कार्य गर्दै आएको दारी ग्याङका केन्द्रीय अध्यक्ष प्रदिप गैरे बर्बरिकले बताए ।
गैरेका अनुसार दारी ग्याङको सदस्य बन्न दारी नै पालेको हुनुपर्ने बाध्यात्मक अवस्था नरहेको स्पष्ट पार्दै दारी प्रेमीहरू जो कोही सदस्य हुन सक्नेछन् । दारी ग्याङ एकता, भाइचारा र समानन्तर भातृत्वको अभ्यास हो’ गैरेले भने ।
‘नाफारहित दारी ग्याङ आधिकारिक रूपमा दर्ता भइ सामाजिक कार्यक्रम सक्रिय छ ।’ वि.सं. २०७२ फागुन ६ गते ग्रुप च्याटबाट शुरु भएको ग्याङको सामाजिक सञ्जालमा १ लाख बढी सक्रिय सदस्य छन् ।
कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिकाका सामाजिक विकास शाखा भरत आचार्य, प्रदेश ५ का संयोजक गणेश पन्त, स्वतन्त्र पत्रकार संघ पाल्पा अध्यक्ष भोजराज भट्टराई, तानसेन नगरपालिका पञ्जीकरण शाखा प्रमुख नारायण पाण्डे लगायत रुपन्देही र पाल्पाका गरी ३० बढीको सहभागिता थियो ।
कार्यक्रमका सहभागीले सामाजिक रुपान्तरण, नेतृत्व विकास, भाइचार बढाउन दारी ग्याङ सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका आइटी अफिसर एवम् ग्याङका सदस्य प्रकाश गैरेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology