बुटवल । दिनरात राष्ट्रियता, लोकतन्त्र, सु-शासन र समृद्धिको नारा लगाएर नथाक्ने यो देशका राजनीतिक दल र तिनका नेताहरू लोकतन्त्रको सामान्य मूल्य मान्यता भन्दा कति पर पुगिसके भन्ने कुरा यिनका पछिल्ला कृयाकलापले देखाउँदै आएका छन् । देशमा जतिपनि आन्दोलन र युद्ध भए र जतिपनि जनताका छोराछोरीहरुले मृत्युवरण गरे, ती घटनाले यी नेतालाई कहि कतै अलिकति पनि छुन्छ होला ? यदि त्यसो हुन्थ्यो भने अवश्यपनि यो देशको राजनीति सांसद 'अपहरण' र 'बन्धक' सम्म पुग्न पर्दैनथ्यो होला । एक राजनीतिक दलले अर्को राजनीतिक दललाई लगाएको आरोपलाई मान्ने हो भने नेपालको राजनीतिले पछिल्लो करिव एक बर्षमै संसद 'अपहरण' मा ह्याटि्रक गरेको छ ।
२०७७ बैशाख १० गते नेकपा (एमाले) का युवा नेता महेश बस्नेत र पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनालले जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरणको शैलीमा काठमाडौं ल्याईएको भन्दै उक्त पार्टिले व्यापक विरोध गर्यो ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव सहितको ठूलो समूह मुद्दा दर्ताको प्रक्रियामा समेत पुग्यो तर प्रहरीले उजुरीको लागि महोत्तरी नै जानुपर्ने बताएपछी लामो समयसम्म उक्त घटनाको चर्चा भई नै राख्यो । त्यसताका मिडियामा उक्त घटनाले 'सांसद अपहरण काण्ड' को रुपमा राम्रै चर्चा बटुलेको थियो । जुन घटनालाई जसपाले अहिले पनि 'सांसद अपहरण काण्ड' भन्दै आएको छ ।
त्यसैगरी, गत बैशाख ३० गते जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका १९ सांसद हराए । नयाँ सरकार गठनका लागि आवेदन दिने अन्तिम दिन जसपाका सांसदहरु एकाएक सम्पर्कबिहिन भएपछि जनता समाजवादी पार्टीको बाबुराम-उपेन्द्र समूहले व्यापक खोजी गर्यो ।
अन्ततः १९ जना सांसद भक्तपुरको एक रिसोर्टमा पुगेको खबर आयो । साथै जसपाका ती १९ जना सांसदसंग रिसोर्टमा एमालेका उनै युवा नेता महेश बस्नेतको सामूहिक फोटो समेत बाहिरिएपछि उक्त घटनालाई समेत जनता समाजवादीले सांसद अपहरण कै रुपमा व्याख्या र मिडियाबाजी गर्यो । उक्त रिसोर्टमा जसपा सांसद राजिखुसीले नै गएको भएपनि नेकपा एमालेको ओली समूहले प्रलोभनमा पारेर आफ्ना सांसदलाई रिसोर्ट पुर्याएको आरोप जसपाले लगाईनै राख्यो । जसलाई उक्त पार्टीले सांसद अपहरणकै अर्को शृङ्खला भनेर व्याख्या गरेको छ ।
तेस्रो घटना हो लुम्बिनी प्रदेशको । लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली यहि श्रावण १५ गतेबाट सम्पर्कबिहिन भएको चर्चा चल्यो । उनी सम्बद्द दल माओबादी केन्द्रले आफ्नो सांसद अपहरणमा परेको बताउँदै मिडियाबाजी समेत गर्यो । त्यसको झन्डै एक हप्ता पछि सोमबार उनै सम्पर्कविहिन भएको भनिएकी सांसद वलीको विज्ञप्ति सार्वजनिक भयो । अज्ञातस्थलबाट जारी भएको भनिएको उनको विज्ञप्तिमा आफू एमालेमै रहेको बताईएको थियो ।
तर, बिहिवार स्वयं सांसद वली सार्वजनिक भईन् र आफुलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा 'बन्धक' बनाईएको आरोप लगाईन् । सांसद वलीले आफुलाई किर्ते प्रेस विज्ञप्तिमा हस्तान्तर गर्न लगाईएको भन्दै आफू माओवादी केन्द्रमै रहेको दावी दोहोर्याईन् ।
तर, वली स्वयंले आफू माओवादी केन्द्रमा रहेको बताए पनि नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गरि सांसद वलीलाई बन्धक नबनाईएको र उनी एमालेमै रहेको दावी गर्यो ।
नेकपाबाट चुनाव जितेकी उनी स्वयंले आफू माओवादीमै रहेको र आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाईएको बताएपछि माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा पनि सांसद अपहरण काण्डले प्रवेश गरेको आरोप लगाउँदै आएको छ ।
त्यसो त लुम्बिनी प्रदेशकै बराबरको सांसद सम्पर्कविहिन हुने काण्ड गण्डकी प्रदेशमा पनि नघटेको होइन । त्यहाँ राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पार्टीले सम्पर्कविहिन भएको भनेको केही समयपछि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा रहेको खुलेको थियो । यद्यपि तत्कालीन सांसद थापाले अन्तिमसम्म पनि नेकपा ओली समूहका नेता पृथ्वी सुब्बा गुरुङलाई नै समर्थन गरे र सोही कारणले पार्टीले उनलाई कार्वाही समेत गर्यो ।
यस प्रकारका घटना जस्ले जसरी गराए पनि यी राजनीतिक घटना हुँदै होइनन् । सांसद नै धुरुधुरु रुँदै मिडियामा आउनुपर्ने भएपछि यो देशका सामान्य जनताको हालत के होला ? नेपालको राजनीतिलाई विदेशीहरूले कसरी हेरेका होलान् र कसरी व्याख्या गर्छन् होला ? यतिमात्रै सोंच्न र बुझ्न सके यो देशले यति दु:ख पाउनुपर्ने थिएन कि !
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology