देवदह । देवदह नगरपालिकाले एकीकृत घुम्ती सेवा सुरू गरेको छ । नगरपालिकाबाट प्रवाह हुने सेवा वडामै उपलब्ध गराई नागरिकलाई सहजता प्रदान गर्न एकीकृत घुम्ती शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
शुक्रबार देवदह नगरपालिकाको वडा नं ११ मा दिनको ११ बजेर ११ मिनेटमा घुम्ती शिविरको उद्घाटन गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले जनप्रतिनिधि र कर्मचारी जनताको सेवा गर्न खटिएको बताए । "हामी देवदहवासीको सुख र समृद्धि चाहान्छौं" उनले भने, "घुम्ने कुर्सीमा बसेर मात्र होइन, जनताको आगनमै पुगेर सेवा प्रवाह गर्न जनप्रतिनिधि र करामचारी तयार हुनुपर्छ भन्ने उद्धेश्यले घुम्ती शिबिर आयोजना गरेका छौं ।"
कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाका १० वटा शाखाबाट प्रवाह हुने सेवा घुम्ती शिविर मार्फत वडामै प्रदान गरिने बताइन् । "जसलाई नगरपालिकासम्म पुग्न पनि सहज छैन । जो नागरिक हाम्रो नगर सरकारले हामीलाई पायक पर्ने स्थानबाटै सेवा दिए हुन्थ्यो भन्ने लाग्थ्यो उहाँहरूलाई सबै सेवा प्रदान गर्ने गरि शिविर आयोजना गरिएको छ" उपप्रमुख गुरुङले भनिन् ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नागरिकसंग अन्तरसंवादसहित नगरपालिकाबाट प्रवाह हुने सेवा घरदैलो मै प्रदान गर्न घुम्ती शिविर आयोजना गरिएको बताए । साना-साना कामको लागि नागरिक नगरपालिका कार्यालय धाउनुपर्ने र दु:ख पाउनुपर्ने अवस्था नहोस भनेर सबै नागरिकका साना र मसिना कामहरू गर्ने गरि शिविर आयोजना गरिएको उनको भनाई छ ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ११ वडा अध्यक्ष दुधनाथ यादव लगायतले बोलेका थिए ।
घुम्ती शिविरमा स्वास्थ्य शाखा, आयुर्वेद शाखा, पशु विकास शाखा, कृषि सेवा शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, राजश्व शाखा, नक्सा शाखा, पंजीकरण शाखा, रोजगार सेवा केन्द्र र योजना शाखाबाट प्रवाह हुने सेवा उपलब्ध रहेको घुम्ती शिविर कार्यक्रम संयोजक काशिनाथ बन्जाडेले जानकारी दिए ।
घुम्ती शिविरमा ५५ जनाले आखाँ जाच गराएको, ६२ जनाले कृषि सेवा लिएको, १२५ वटा ल्याव टेस्ट गरिएको, ९४ वटा भेटनरी सेवा प्रदान गरिएको, ६१ जनालाई आयुर्वेद सेवा दिईएको, २५ जनालाई नक्सा सम्बन्धि परामर्श दिईएको, २५ जनालाई रोजगार सम्बधि परामर्श दिईएको र १७१ जनालाई स्वास्थ्य सेवा दिईएको संयोजक बन्जाडेले जनाएका छन् ।
देवदह नगरपालिकाको दक्षिणी क्षेत्रका ४ वटा वडामा घुम्ती शिविर संचालन हुने नगरपालिकाले नजाएको छ । जसमा वडा नं ११ सहित वडा नं १२, १ र २ रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology