देवदह । १० बुँदे देवदह घोषणा पत्र जारी गर्दै देवदह युथ समिट–२०८० सम्पन्न भएको छ । डिजिटल पत्रिका सेतोमसीको आयोजना र समृद्ध समुदाय विकास केन्द्रको सहयोगमा सम्पन्न युथ समिट युवाका सवाल विशेष प्यानल छलफल सहित घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
देवदह युथ समिट–२०८० मा युवा र सरोकारवालाको व्यापक सहभागितामा युवाहरुको अपनत्व हुने गरी लुम्बिनी प्रदेश युवा नीति र देवदह नगरपालिकाको युवा नीति तथा कार्यक्रम जारी गर्नका लागि विशेष पहल गर्ने, स्थानीय र प्रदेश सरकारको योजना तथा नीति निर्माणमा युवाहरुको सहभागिता तथा भूमिका विषयमा सरकारका प्रतिनिधि संग संवाद गर्ने र त्यसको कार्यान्वयनका निम्ति सक्रिय रुपमा युवाहरु परिचालन गर्ने, युवाहरुको सहभागितालाई संस्थागत सुनिश्चितता गर्न पालिकामा युवामैत्री स्थानीय शासन लागु गर्न पहल गर्ने उल्लेख गरिएको छ ।
यसैगरी सीप विकास र उद्यमशिलता विकाससंगै उचित नीति, कार्यक्रम र बजेट व्यवस्थापनसंगै युवाहरुलाई स्वदेशमै टिकाउने, विदेशिएका युवालाई स्वदेशमा फर्काउने र लगानी गर्ने वतावरण सृजनाको लागि पहलकदमी गर्ने, स्थानीय स्तरबाटै लैङ्गिक समानताका निम्ति युवाहरुको भूमिका निर्धारण गरि सवै क्षेत्रहरुमा बरावर अर्थपूर्ण लैङ्गिक सहभागिताको सुनिश्चितता गराउन युवाहरुलार्य सक्रिय रुपमा अघि बढाउने उल्लेख गरिएको छ ।
पालिकामा युवा शसक्तिकरण तथा युवाहरुको आवाज सुन्नको लागि संरचना तथा मञ्च निर्माण गर्नका लागि पैरवी गर्ने, युवामैत्री शासकीय प्रणाली स्थापनाका लागि र संसदीय चुनावमा अधिकतम युवा उम्मेदवारी कायम गर्न दलहरुसंग पहल गर्ने, एक शिक्षण संस्था एक उद्यम र उत्पादन कार्यक्रम संचालनका लागि पैरवी गर्ने रहेको छ । सीप विकास तालिम केन्द्र स्थापनाका लागि नगरपालिकासंग पहल गर्ने, युवाको नवीनतम सोच आविष्कार, खोज अनुसन्धान र उत्पादनलाई प्रवद्र्धन र प्रेरित गर्ने गरी कानुनी प्रक्रियालाई सरलीकृत गर्न पहलकदमी गर्ने जारी घोषणा पत्रमा उल्लेख गरिएको छ ।
दुई सेसनमा भएको कार्यक्रममा युवा नीति, कार्यान्वयनमा चुनौती विषय र युवा उद्यमशिलताको लागि नीति निर्माण विषयमा बहस गरिएको थियो । सो बहस कार्यक्रममा जवाफ दिनेहरुले रोजगार सृजना गर्ने गरी नीति निर्माण हुन नसकेको बताएका थिए ।
युवाहरूको सोंचमा परिवर्तन गर्न आवश्यक रहेकोमा कार्यक्रममा जोड दिईएको थियो ।
कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोविन्द केसीले २ लाख युवालाई रोजगार प्रवद्र्धनको लागि बजेट विनियोजन गरिएको बताए । लुम्बिनी प्रदेश सरकार युवा नीति बनाउने प्रक्रियामा रहेकोले युवाहरुलाई प्रवद्र्धन गर्ने गरी नीति निर्माण गर्ने उनको भनाइ छ ।
देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले युवाहरुलाई उद्यमशिलतासंग जोड्नको लागि देवदह नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेपनि अहिलेसम्म कसैले निवेदन नदिएको बताए । नगरपालिकाले विकासमा विभेद नगरेको बताउदै प्रवक्ता डुम्रेले युवामैत्री बजेटको लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले देवदह नगरपालिकाले युवाहरुको प्रवद्र्धनको लागि बार्षिक रुपमा २० प्रतिशत रकम विनियोजना गरेको बताए । युवाहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर र स्वरोजगार बनाउने गरी नगरपालिकाले बजेटको व्यवस्था गरेको उनले दावी गरे ।
सञ्चारकर्मी पवन पौडेल र टंक सुनारद्वारा सहजीकरण गरिएको कार्यक्रममा अधिकारकर्मी शान्ति विक, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी वक्ताको रुपमा रहेका थिए ।
समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षता र सेतोमसीका सम्पादक विष्णुप्रसाद पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology