काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सेक्युरिटी गार्डको आकर्षक तलबसहितको रोजगारी भन्दै दर्जनौं नेपाली ठगेको अभियोगमा यूएईबाट एक जनालाई पक्राउ गरी नेपाल ल्याएको छ । ठगी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।
उपाध्यायविरुद्ध ५१ जना पीडितले १ करोड ५५ लाख ९२ हजार ५ सय २५ रुपैयाँ ठगी गरेको जाहेरी दिएका छन् । अदालतको पक्राउ पुर्जीपछि उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट पक्राउ गरेर नेपाल ल्याइएको हो । उपाध्यायमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप पनि रहेको छ ।
ब्युरोको अनुरोधमा इन्टरपोल प्रहरीले उनीविरुद्ध २०७९ साल जेठ ६ गते रेड कर्नर नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले आरोपितको खोजी गरी सम्बन्धित देशलाई हस्तान्तरण गर्ने प्रचलन छ ।
उपाध्यायलाई काठमाडौं जिल्ला अदालतमा ठगी अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ । नेपाली कामदार र केही म्यानपावर कम्पनीलाई ठगी गर्नेहरुले यूएईलाई सुरक्षित आश्रयस्थल बनाएर बसेको धेरैको अनुमान रहेको अवस्थामा इन्टरपोल प्रहरीले ठगीको आरोपी उपाध्यायलाई पक्राउ गरेपछि ठगीका अन्य अभियुक्तहरु पनि पक्राउ पर्नसक्ने आशा बढाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology