काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले केही दिनमै इजरायल रोजगारीको लागि आवेदन खुल्ने बताएकी छन्। उक्त आवेदन अनुसार नेपालबाट महिला र पुरुष गरी एक हजार जना युवा सहायक कामदारको रुपमा इजरायल जान पाउने छन्।
राजदूत डा.शाक्यको पहलमा सुरुमा पाँच सय जना नेपाली कामदार इजरायल पठाउने गरी श्रम सम्झौता भएको थियो। गत वर्षको माघ महिनामा सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिकलाई रोजगारीमा पठाउने गरी नेपालका लागि इजरायली राजदूत हनान गोडेर र वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।
इजरायलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि राजदूत डा.शाक्यको पहलमा थप पाँच सय नेपाली कामदार पठाउने सहमति भयो। जसले गर्दा अब चाँडै खुल्ने आवेदनमा एक हजार जना नेपाली इजरायल जान पाउने भएका छन्, जुन केही दिनमै तय हुनेछ।
राजदूत डा.शाक्यले इजरायल सरकारले सुरुको पाँच सयको कोटामा अनुरोध गरेकाले श्रमिक संख्या बढाइदिएर हजार पुर्यादिइएको र केही दिनमै यो प्रक्रिया सुरु हुने बताइन्।
उनले भनिन, ‘इजरायलतर्फबाट अन्तिम पत्र पठाउन बाँकी थियो, त्यो पत्र गइसक्यो। हामीले वैदेशिक रोजगार विभागमा हिजो(साउन ४ गते) श्रमिक पठाउनेसम्बन्धी अन्तिम पत्र पठाइसकेका छौं। उहाँहरुले पनि आवेदन फारम प्रकाशित गर्नको लागि सबै तयारी गरिसक्नु भएको छ। एक–दुई दिनमै विज्ञापन निकाल्नु हुन्छ होला । यताबाट हामीले पनि हतारो गरिराखेका छौं।’
उनका अनुसार रोजगारीका लागि अब सबै प्रक्रिया सकिएकाले आवेदन आह्वान गर्न मात्र बाँकी छ। आवेदन निकालेको २१ दिनपछि भने भर्ना प्रक्रिया सुरु हुन्छ र आवदेन खुलेको दुई महिनाभित्र हजार जना नेपाली युवा इजरायल पुग्ने छन्।
राजदूत डा.शाक्यका अनुसार इजरायल जाने युवाहरुले बुढाबुढीहरुलाई राखिएको गेरेटिक सेन्टर, डे केयर सेन्टर तथा अस्पतालहरुमा नर्स अन्तर्गत रहेर काम गर्ने छन्।
उनले भनिन्, ‘यहाँ नर्स नै भएर काम गर्ने होइन उहाँहरुले नर्सको मातहतमा रहेर काम गर्ने हो। त्यसैले सहायक कामदार(एक्जुलरी वर्कर) भनिएको हो। र, सरकारले ल्याउने भएकोले उहाँहरु सरकारकै हुनुहुने भयो र उहाँहरुले सरकारले खटाएको ठाउँमा काम गर्नुपर्छ।’
इजरायलमा नेपाली कामदारलाई पनि इजरायली नागरिक सरह काम, सुविधालगायतको व्यवहार गरिने उनले बताइन्। उनका अनुसार गएका कामदारले इजरायलमा सरकारले खटाएको भन्दा अन्य ठाउँमा काम गर्न पाउने छैनन्। र, बुढाबुढीहरुलाई खाना खुवाउने, सफा सुग्घर गराइदिने, उठाउने, बसाउने लगायत वृद्धवृद्धाहरुको सेवा गर्नुपर्ने छ।
काम अलि गाह्रो पनि रहेको बताउँदै उनले भनिन्, ‘अलि स्वस्थ, मोटाघाटा भएका वृद्धवृद्धाहरुलाई उठाउन गाह्रो हुन्छ, हुनत काममा प्रयोग गरिने मेशीनहरु पनि हुन्छ। तरपनि यसमा नेपालबाट अलि बलियो मान्छे पठाउन सक्यो भने राम्रो हुन्छ भनेर निर्देशिकामा यति हाइट, यति वजन भनेर छुट्याइएको हो।’
नर्स हुने इच्छा भएर पनि नर्स हुन नसकेका अर्थात् प्लसटु पढेपछि अनमी पढेका, मेडिसिनतिरै १५–१८ महिनाको कोर्ष गरेकाहरुको लागि उक्त अवसर भएको डा.शाक्य बताउँछिन्।
इजरायल जान युवाहरुले कति पैसा तिर्नुपर्छ भन्ने विषयमा भने सापकोटा भन्छन्, ‘अब इजरायल जाने कुरा निश्चित भयो। केही दिनमा आवेदन फारम खुल्छ। युवाहरुले कति पैसा तिर्नु पर्छ भन्ने कुरामा चाहीँ विज्ञापन तयार भएर आएसकेपछि थाहा हुन्छ। सामान्य मेडिकललगायतको खर्च लाग्न पनि सक्छ अथवा त्यो खर्च नलाग्ने पनि हुन सक्छ । त्यो माथिबाट (श्रम मन्त्रालय) क्लियर भएर आइसकेपछि थाहा हुन्छ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology