लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसको बुद्धजन्मस्थल लुम्बिनीमा हुने भ्रमणको तयारी थालिएको छ । नेपालको चारदिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी शुरु गरेको हो ।
कोषले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणी सहित सरोकारवालाहरुसँग बैठक गरी महासचिव गुटेर्रसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल भएकाे छ ।
महासचिव गुटेर्रस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेर्रसको लुम्बिनी भ्रमण भव्य बनाउने गरि तयारीमा जुट्न आग्रह गरे ।
महासचिवकाे भ्रमणले लुम्बिनीबाट विश्वशान्तिकाे सन्देश विश्वभर दिन सकिने बताए । महासचिव गुटेर्रसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगै लिएर आउनेछन ।
१४ गते विहान ८:३५ बजे गाैतमबुद्व अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने र त्यहाँबाट हेलीकप्टरमा सिधै लुम्बिनी आउने प्रमम्भिक कारेयक्रम बनेकाे छ । महासचिव गुटेर्रसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदिप हुँदै मायादेवि मन्दिरसम्म जाने बताईएकाे छ ।
बैठकमा काेषका काेषाध्यक्ष सिद्विचरण भट्टराई, लुम्बिनि साँस्कृतिक नगरपामलिकाका प्रमुख सजरूद्विन खान, उपप्रमुख कल्पना हरिजन, काेषका सदस्य सचिव सानुराजा शाक्य, याेजना प्रमुख सराेज भट्टराई, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसअघि महासचिव गुटेर्रसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो। गुटेर्रसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।
महासचिव गुटेर्रस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।
यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए । त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology