देवदह । रुपन्देहीको देवदहस्थित स्वर्णिम सगरमाथा क्याम्पसले आफ्नो विद्यार्थीले नेपालमै सर्बोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । क्याम्पसले विविएस चौथो बर्षको परिक्षामा ८२ प्रतिशत अंक ल्याएकी छात्रा सुस्मा गैरे विविएस संकायतर्फ नेपाल प्रथम भएको दावी गरेको हो ।
एक औपचारिक कार्यक्रम गरि क्याम्पसले नेपाल प्रथम दावी गरिएकी छात्रा सुस्मा गैरे लगायत उत्तिर्ण सम्पुर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले देवदहको स्वर्णिम सगरमाथा क्यापसले देश भरिमै उत्कृष्ट नम्बर ल्याएर नेपाल प्रथम भएकोमा विद्यार्थी तथा क्याम्पस परिवारलाई बधाई ज्ञापन गरे । स्वर्णिम सगरमाथा क्याम्पसले देवदहका विद्यार्थीलाई बाहिर जानबाट रोक्न सफल भएको उल्लेख गर्दै खत्रीले देवदह कृषि र पर्यटनमा मात्र नभएर शैक्षिक विकासमा पनि अगाडि रहेको बताए । देवदह शैक्षिक हब बन्दै गएको बताउँदै प्रमुख खत्रीले सुनवल, रोहिणी र ओमसतियाका विद्यार्थीहरुले समेत देवदहमै अध्ययन गरिरहेकोले देवदहका विद्यार्थी उच्च शिक्षाका लागि बाहिर जानुपर्ने अवस्था नरहेको जिकिर गरे ।
त्यसैगरि, क्याम्पसका प्राचार्य कृष्ण पौडेलले अभिभावक, विद्यार्थी र क्याम्पस परिवार सबैको मेहनत कै कारण क्याम्पसले बर्षेनि उत्कृष्ट नतिजा दिंदै आएको बताए । २०७१ सालमा लुम्बिनी प्रथम भएको उल्लेख गर्दै प्राचार्य पौडेलले क्याम्पस स्थापनाको एक दशकमा क्याम्पसले उल्लेख्य सफलता प्राप्त गरेको बताए ।
कार्यक्रममा छात्रा सुस्मा गैरेका साथै अन्य उत्तीर्ण विद्यार्थीहरू पुनम जैसी, प्रशान्त रिमाल, रेणुका थारू, लक्ष्मी पौडेल र उनीहरूका अभिभावकलाई सम्मान गरिएको थियो ।
क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष ॠषिराम सापकोटाको अध्यक्षता तथा क्याम्पसका इसिए प्रमुख दामोदर सापकोटाको संचालन रहेको कार्यक्रममा छात्रा सुस्मा गैरे र उनका अभिभावक लगायतले आफ्नो भनाइ राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology