देश कहिल्यै भन्दा रहेनछन् अहङ्कारी मनहरूले
चरित्र चिन्न सकिँदो रहेनछ मात्र चर्का भाषणहरूले
जनताको सरकार भन्दै कीर्नाले झैँ चुसेर देश
माथि के के गर्न खोज्दै छन् शकुनि र दुःशासनहरूले ।।१।।
.....................................................................
स्वार्थको लागि लपक्कै मिल्नेहरू तमाम छन्
स्वार्थ नमिले बारुलाले झैँ चिल्नेहरू तमाम छन्
कठै ! भनेर कसलाई सहयोग गरिसाध्य छ र !
यहाँ त औँलो दिँदा डुँडुलो निल्नेहरू तमाम छन् ।।२।।
.....................................................................
सुदृढ पाइला चाल्नै सकिँदैन थिरिथिरीले
सबैका मनमा बस्न सकिँदैन दादागिरीले
हरेकले आफूलाई चिने समीचीन हुन्छ
पूर्णचन्द्रको भ्रम नछरे हुन्थ्यो जुनकीरीले ।।३।।
.....................................................................
मनी र मसलको दम्भपूर्ण दैनन्दिन कहिलेसम्म
छल र मात्सर्ययुक्त जीवन समीचीन कहिलेसम्म
जिन्दगी पानीको फोकाजस्तै क्षणभङ्गुर छ भने
यो अभिमान,यतिविधि उछिनापाछिन कहिलेसम्म ।।४।।
- डा. श्यामप्रसाद न्यौपाने
सुनवल १२ नवलपरासी (बसुप)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology