देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा न नं ८ स्थित जनता माध्यमिक विद्यालयमा शैक्षिक मेला सम्पन्न भएको छ । विद्यालयको आयोजना र सोइया महिला स्वाबलम्बी संस्थाको सहयोगमा सम्पन्न कार्यक्रममा विद्यार्थीले तयार गरेका विज्ञान सामग्रीसंगै विभिन्न कलाहरूको प्रदर्शनी गरिएको छ ।
मेलामा विद्यार्थीले तयार गरेका वाटर फाउण्टेन, परम्परागत समाज र अधुनिक शहरसम्बन्धि कला, चर्खे पिङ्ग, सोलार सिस्टम, मुटु सहित स्वास प्रश्वास प्रणालीको डेमो तस्विर, मिसाइल, रेलवे स्टेसन, पानी शुद्धिकरण गर्ने विधि, आधुनिक समाजको सुरक्षा सम्बन्धि सेन्सर सिस्टम, परम्परागत डोको नाम्लोदेखि राष्ट्रिय जनावर र पन्छीहरूको चित्र समेत प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरूले अतिथि तथा अभिभावकहरूलाई आफुले तयार गरेको सामग्रीको अर्थ र महत्वबारे व्याख्या समेत गरेका थिए।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले घोकन्ते विद्यालाई परिमार्जित गरेर व्यवहारीक ढङ्गबाट शिक्षण अभ्यास गरेकोमा खुसी व्यक्त गरिन । सामुदायिक विद्यालयका विद्यार्थी कहिले पनि पछाडी नपर्ने र आफु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन । अहिलेको आवश्यकता व्यवहारिक शिक्षा रहेको उल्लेख गर्दै उनले नयाँ प्रविधिको प्रयोगबाट अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिईन ।
सोही कार्यक्रममा बोल्दै देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले देवदहका विद्यालयहरूमा शैक्षिक मेला जस्ता कार्यक्रम आयोजना भएकोमा खुसि व्यक्त गरे । देवदह क्षेत्रका विद्यार्थी लाभान्वित हुने गरि आयोजना गरिएका यस्ता कार्यक्रमले विद्यार्थीलाई धेरै फाइदा हुने उनको भनाइ छ ।
त्यसैगरी देवदह नगरपालिका वडा नं ८ का वडाध्यक्ष हरि पाण्डेले सोइया संस्थाले दिएको तालिमलाई उपलब्धिमुलक बनाई विद्यार्थीको सिकाइलाई अगाडि बढाउन विद्यालयलाई आग्रह गरेका छन । उनले सिकेका कुरालाइ कक्षाकोठामा पनि अबलम्बन गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै महामाया भवानी माविका प्रधानाध्यापक ऋषिश्वर अर्यालले शैक्षिक उन्नयनका निम्ति गरिएको मेलाले विद्यार्थीको सिकाइमा परिवर्तन ल्याउने बताए। कार्यक्रममा बोल्दै सोइया महिला स्वाबलम्बी संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले विद्यार्थीको सिकाइ गुणस्तरमा परिवर्तन गर्न आवश्यक रहेकाले यो कार्यक्रम आयोजना गरिएको बताइन । उनले सिकाइमा परिवर्तन नभएसम्म शिक्षामा परिवर्तन असम्भव रहेको बताइन । गुणस्तर शिक्षाका लागि अध्यापन हुने कक्षामा परिवर्तन आउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सोइया महिला स्वभालम्बी संस्थाद्वारा शिक्षकहरूलाई प्रदान गरिएको सहकार्यआत्मक शिक्षण विधिको प्रयोग गरी मोडल कक्षा प्रदर्शन गरिएको थियो । जसमा सहभागी भएर अध्ययन गर्दा चाँडो सिकिने र बुझिने विद्यार्थीहरुले बताए।
कार्यक्रम जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम पाण्डेको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक कृष्ण अर्यालको स्वागत तथा शिक्षक विमला अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology