राजेश पराजुली, पोखरा । पोखराको नयाँ बजारमा रहेको अटोवेज प्रालिबाट सरकारी विद्यालयले एकै पटक ६ वटा बस लगेका छन् ।
भन्सार महसुल छुट भएर आएका ६ वटा स्कुल बस प्रालिले बिहीबार सम्बन्धित विद्यालयका प्रतिनिधिलाई एकसाथ बुझाएको अटोवेजकी निर्देशक सन्ध्या पौडेलले जानकारी दिइन्।
निर्देशक पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्य सम्ममा भन्सार छुटसहितका प्रक्रिया पुरा गरेका पोखरा १६ को शान्ति मावि, पोखरा १८ को शान्त मावि र पोखरा २५ को अम्बिका माविले स्कुल बस लगेका हुन् । त्यसै गरी तनहुँ आवुखैरेनी १ को चन्द्रोदय मावि, आवुखैरेनी २ को अकला आधारभूत विद्यालय र गोरखा अजिरकोट ४ को हिमालय माविले समेत आज बिहीबार नै बस प्राप्त गरेका हुन् ।
सरकारले पछिल्लो समय सामुदायिक विद्यालयले बस खरिद गरे बापत तिर्नुपर्ने भन्सार महसुल तथा अन्तःशुल्कमा छुट दिँदै आएको छ ।
भन्सार महसुल तथा अन्तःशुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था हुन थाले यता सामुदायिक विद्यालयहरूले छुट सुविधाको उपयोग गर्दै विद्यार्थीहरूलाई ल्याउने लैजाने सुविधा प्रदान गर्न थालेका छन् ।
यस सँगै प्राइभेट स्कुल पढे मात्र स्कुलको आफ्नै बसमा आवतजावत गर्न पाइन्छ भन्ने मान्यतालाई समेत तोडिन थालेको छ ।
निजी विद्यालयले टोल टोलमै स्कुल बस पठाउँदा बालबालिकाहरू त्यस्ता विद्यालयतर्फ आकर्षित हुने गरेकोमा पछिल्लो समय बस सुविधा दिएका सामुदायिक विद्यालयमा पनि बालबालिकाहरूको आकर्षण बढ्न थालेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology