भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको जनाएको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रममा सियारी प्रदेशमै उत्कृष्ट र पहिलो भएको दावी गरे।
आर्थिक वर्ष २०७९/०८० मा साढे ३ करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको जानकारी दिंदै अध्यक्ष घिमिरेले गाउँपालिकाले स्थानीयस्तरमा रहेका प्राय सबै क्षेत्रका किसानहरुलाई उत्पादनमा आधारित भएर अनुदान दिदै आएको बताउंदै बताए ।
किसानको विकास नहुँदासम्म मुलुक आर्थिक रुपमा सबल र सक्षम हुन नसक्ने उल्लेख गर्दै उनले किसान र कृषि क्षेत्रको समग्र विकासका लागि तीनै तहका सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले कृषकलाई खाली जग्गा नराख्न समेत आग्रह गरे ।
अध्यक्ष घिमिरेका अनुसार सियारीले १० कठ्ठासम्ममा माछापालक कृषकका लागि प्रतिकेजी ५ रुपैयाँ अनुदान दिदै आएको छ । गत आर्थिक वर्षमा मात्रै ३ सय ७५ जना किसानलाई २३ लाख २५ हजार ५ सय ७७ रुपैयाँ अनुदानवापतको रकम दिइएको आर्थिक विकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए । गाउँपालिकाले सियारीभित्रका २ हजार ३ सय १७ दशमलव ९३ कठ्ठामा ६ वटा २३ वटा पोखरीमा माछापालन गर्ने किसानलाई अनुदानवापतको रकम प्रदान गरेको शाखा प्रमुख खनालले जानकारी दिए । यी पोखरीबाट ४ लाख ६५ हजार १ सय १५ केजी माछा उत्पादन भएको शाखा प्रमुख खनालले जानकारी दिए।
त्यसैगरी प्रतिफलमा आधारित अनुदान कार्यक्रम अन्तरगत दुध उत्पादन कार्यक्रम अन्तरगत आर्थिक वर्षको जेठ महिनासम्ममा १५ लाख ९१ हजार ५ सय ३५ लिटरको ३९ लाख ७८ हजार ८ सय ४० रुपैयाँ अनुदान वापतको रकम उपलब्ध गराइएको बताए ।
सियारी गाउँपालिकाभित्रका कृषकको हितका लागि भैरहवा लुम्बिनी भुमिगत जल परियोजनाबाट सिचाई गर्ने कृषकहरुलाई सिंचाईमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तरगत गत आर्थिक वर्षको जेठ महिनासम्म १७ लाख ३८ हजार ४ सय ७९ रुपैयाँ अनुदानवापतको रकम प्रदान गरेको जनाएको छ । निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम अन्तरगत जेठ महिनासम्म ३ हजार ७ सय १२ वटा गाई भैसीलाई निशुल्क कृत्रिम गर्भाधान गरिएको र त्यसवापत कुल १२ लाख ९९ सय हजार २ सय रुपैयाँ अनुदानवापत किसानको खातामा रकम पठाइएको आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिए ।
गाउँपालिकाले कृषकहरुलाई घाँस खेतीमा प्रोत्साहन गर्न भन्दै घाँसको विउमा ५० प्रतिशत अनुदान दिएको छ । पालिकाले असारसम्ममा १ हजार ६ सय ३४ हेक्टरमा खेती गर्ने ३ सय ८८ कृषकलाई ६ लाख २४ हजार १ सय ७५ रुपैयाँ अनुदानवापतको रकम हस्तान्तरण गरेको छ ।
यान्त्रीकरणमा पनि सहयोग गर्दै पालिकाले ६७ जना कृषकलाई ११ लाख ३३ हजार १ सय रुपैयाँ अनुदान वापत रकम प्रदान गरिएको छ । त्यस्तै गहुँको बिउ खरिदका लागि ४० लाख, मकैमा साढे ७ लाख, तोरीमा १२ लाख, चैते धान खेतीलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्नका लागि उन्नन बिउ खरिदका लागि २५ लाख रुपैयाँ अनुदानवापत कृषकको खातामा रकम पठाइएको छ ।
गाउँपालिका अन्तरगत रहेका कृषकहरुको तथ्यांक व्यवस्थित गर्नका लागि गाउँपालिकाले पालिकाभित्रका कृषकरुलाई लागि कृषक कार्ड वितरणलाई प्रभावकारी बनाइएको आर्थिक विकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology