राहुल देव सापकोटा, देवदह । देवदह नगरपालिकाको नवौँ नगर सभामा नगरपालिकाले विभिन्न पेशाका कर्मचारीहरुलाई सम्मान गर्दैगर्दा शिक्षकलाई बेवास्ता गरिएको भन्दै देवदहका शिक्षकले गुनासो गरेका छन् ।
गत वर्ष कोरोनाको जटिल परिस्थितिमा घुम्ती शिक्षा भन्दै घरघरमा पुगेर अध्यापन गराउने शिक्षकको जोखिम पुर्ण कामको कदर नभएको शिक्षकहरु बताउँछन । देवदह स्थित केरवानी माध्यमिक विद्यालयमा अद्यापनरत शिक्षक निर्मल ढुंगाना सामाजिक संजालमा लेख्छन् - "देवदह नगरपालिकाले कोभिडको समयमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई नगर सभामा सम्मान गरेर कर्मचारीलाई थप हौसला प्रदान गरेको छ; यसका लागि यो निर्णय लिने प्रति आभार व्यक्त गर्दछु । तर गत वर्ष कोभिड र लकडाउनको स्थितिमा पनि विभिन्न टोल टोलमा पुगि घुम्ति कक्षा लिने विद्यालयप्रति अत्यन्तै जिम्मेवार हुने, लकडाउन अबधिभर खट्ने शिक्षकहरु पनि थिए । तिनीहरुलाई विर्सिएकोमा दुःख व्यक्त गर्दछु । ती सबै शिक्षकलाई सम्झन नसके पनि केहीलाई सम्झिएको भए अझ तारिफ गरिन्थ्यो ।" 
त्यसैगरी, देवदहकै अर्का शिक्षक शेषनारायण रेग्मी भन्छन् - "देवदह नगरपालिकाले पालिकाभित्र एकजना पनि सम्मान गर्न योग्य शिक्षक नभेटे कै हो कि शिक्षक सम्मान आवस्यक नपर्ने ठानेको होला ? शिक्षा र शिक्षकलाई हेर्ने दृष्टिकोण कहिले बदलिएला ?" 
शिक्षकको यो गुनासोबारे हामीले देवदह नगरपालिकाका जनप्रतिनिधिलाई प्रश्न गर्यौं । हाम्रो प्रश्न थियो - "के देवदहका शिक्षकहरू सम्मान गर्न लायक नभएकै हुन् ? हाम्रो प्रश्नको जवाफमा देवदह नगरपालिकाकि उप-प्रमुख विद्यालक्ष्मी गुरुङले शिक्षकलाई शिक्षा दिवसमा सम्मान गरिने बताईत् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology