२७ चैत, बुटवल । नेपाली कांग्रेसले नयाँ सरकार गठनका सम्बन्धमा शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्दैछ । कांग्रेसले दिउँसो ३ बजे माओवादी र जसपा सँग वार्ता गर्न लागेको हो ।
२० चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरे बमोजिम नयाँ सत्ता समीकरणबारे छलफल गर्न कंग्रेस सभापति देउवाले बैठक बोलाएका हुन् ।
नयाँ सरकार गठनको पहल गर्ने निर्णयपछि सत्ता समीकरणमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी कांग्रेसले संयुक्त बैठक बोलाएको यो पहिलो पटक हो । यो बैठकबाट तीन दलको बीचमा वार्ता टोली बनाउनेबारे निर्णय हुन सक्ने पनि बताइएको छ ।
माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रस्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसद्मा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहेका छैनन् । वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ ।
केन्द्रीय समितिको शुक्रबार बस्ने बैठक स्थगित गरेका कांग्रेस सभापति देउवाले सरकार गठनका विकल्पबारे छलफल गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्र सरकार परिवर्तन गर्न व्यापक दौडधुपमा लागे पनि जनता समाजवादी पार्टीले यो विषयमा खासै रुचि देखाएको छैन । जसपाले रुचि नदेखाएपछि कांग्रेसलाई सरकार परिवर्तनका लागि अग्रसरता लिन पनि समस्या परेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology