रबिन शर्मा चापागाई, बर्दघाट । जिल्लाको बर्दघाट नगरपालिका वडा नं . १३ को शिवालय टोल हरेक क्षेत्रमा नमूना बन्दै गएको छ । उक्त टोलका करीव ५० घरधुरी सरकारको आस नगरी एकतावद्ध भएर हरियाली र सुन्दर टोलको परिकल्पना गर्दै करिब १.५ किमी क्षेत्रफलमा बृहत बृक्षारोपण शुरु गरेका छन् ।
जस अन्तर्गत फूल प्रजातिका राजवृक्ष, गुल्मोहर, पारिजात, कल्की, सारिका अशोक, स्थानीय प्रजातिका फूल आदी र बिरुवा प्रजातिका निम, तेजपत्ता, अर्जुना, शिरिष, रेन ट्री लगायतका बृक्ष रोपण गरिएको छ ।
बृक्षारोपणको बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय राजवृक्षको बिरुवा रोपेर उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उपप्रमुख उपाध्यायले शिवालय टोलको बृक्षारोपणले वातावरण र पर्यावरण संरक्षणसंगै टोललाई हरियालीयुक्त र सुन्दर बनाउने बताए । रोपिएका फुल र बिरुवा हुर्किएपछि बृक्षारोपणको वहुआयामिक फाइदा हुने उपाध्यायले बताए । ‘टोललाई स्वच्छ, हरियाली र सुन्दर बनाउन मात्रै होइन सबै घरका सदस्यलाई उत्पादनसंग जोडेर उद्यमशील बनाउन टोलवासी अघि बढ्नुपर्ने मा जोड दिदै महिलाहरु र युवाहरुको उत्साहपूर्ण सक्रियता र सहभागिताले टोललाई नमूना बनाउदै जानेमा आफु बिश्वस्त रहेको बताए । नगरले परिकल्पना गरेको योजनालाई उछिन्दै यस शिवालय नमुना टोलले आफ्नै सक्रियतामा उक्त कार्य गरेकोमा आफु निकै खुसि भएको बताए ।
शिवालय टोलले नमूना कामहरु गर्दै अघि बढेको र बर्दघाटमा पहिलो नमुना टोलमा शिवालय नमुना टोल बर्दघाट १३ आफ्नै वडा भएकोमा यसले नगरपालिकामा नै राम्रो संदेश दिने बर्दघाट नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नरबहादुर चौधरीले बताए ।
टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर थापाले टोलको वृहत्तर उन्नति र प्रगतिका लागि टोलवासीहरु हरेक काममा एकतावद्ध भएर लागेका र टोलका स्थानीय र बैदेशिक रोजगारमा रहेका युवाहरुबाट स्वतस्फुर्त रुपमा संकलन भएको २ लाख लगानीमा यात्रु प्रतिक्षालय, बिश्राम कुर्सि र र सेक्टर बन कार्यालय बर्दघाटको सहयोगमा प्राप्त केहि फुल र बिरुवा खरिद गरेर टोललाई हरियालीयुक्त बनाउन लागिएको बताए । उनले रोपिएका बिरुवाको रेखदेख र संरक्षणहरेक टोलवासीको दायित्व हुने र बिरुवा संरक्षण नभएमा आफ्नै लगानीमा खरिद गरेर पुनः रोपेर हुर्काउनुपर्ने नियम बनाइएको बताए ।‘धेरैजसो ठाउंमा बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने परिपाटी छ, जसले गर्दा ठूलो धनराशी बालुवामा पानी सरह खेर गइरहेको छ तर हाम्रो टोलमा त्यस्तो हुन दिन्नौं’–अध्यक्ष थापाले ले भने–‘आफ्नो घर अगाडि लगाइएका बिरुवा कुनै पनि हालतमा संरक्षण हुनैपर्छ भन्नेमा टोलवासी एकमत छन् ।’बृक्षारोपणको उद्देश्य हरियाली र सुन्दर बनाउनु मात्र नभई यसले वातावरणीय रुपमा पनि उल्लेख्य भूमिका खेल्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology