कृष्ण अन्जान । गुल्मी
असारे मासको छिपछिपे हिलो
छि मलाई घिन लाग्यो, आहै छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा, छबिस रिन लाग्यो आहै छबिसै रिन लाग्यो
लौतबा लौ लौ, लौतबा लौ लौ, छबिस रिन लाग्यो ।।
असार १५ पनि गईसकेकाे छ। पानी बर्सेर रुरुक्षेत्रका तालखाेला र जौ खाेलामा मुल फुटेका छन तर यी खाेलाका किनारका खेतहरु भने बाँझै छन् । तालखाेलाकाे पानीले सिँचाइ हुने बाँसटारी, रामपुर पारी घुमाउरे र खुत्का खाेलाले राेपाइँ हुने क्षेत्र, जौखाेलाले राेपाइँ हुने क्षेत्रहरू सबै बाँझै छन् ।
रुरुक्षेत्र गाउँपालिका वडा न ३ स्यालपाेखरीकि हिमकला ज्ञवालीलाई सम्झना छ, राेपाइँ भनेपछि राेपाइँ गर्नेका घरघरमा असारे पुवा पाक्थे, केराकाे बाेँगाकाे अचारसँगै गौँका मिठा च्याल्ले रोटी पाक्थे ।
आलि खन्ने, जाेत्ने बिहानैदेखि खेततिर जान्थे, राेपाहारहरु मेला लाग्ने बेलामा गएर बीउ काढ्ने र खेतमा खाेक लगाई सकेपछि राेप्ने बेला हुन्थ्यो । राेपाहा र खेताराहरुले वालि गाउँदै हिलाे खेल्दै खेत राेप्थे। "दिउस घरकी आँबैले डाेकामा बाेकेर खेतमा पुर्याएकाे अर्नी त्यहि घिउ हालेर बनाएकाे असारे पुवा र केराकाे बाेँगाकाे अचार मिठाे मानेर खान्थे, इँबरै सबै सम्झना मात्र भयाे" हिमकला ज्ञवालीले भनिन् ।
राेपाईँ सकेपछि खाेलामा हिलाे पखालेर वालि गाउँदै राेपाहार हरु घर फर्किन्थे ।
रुरुक्षेत्रकाे जौखाेला, तालखाेला र खुत्का खाेलाकाे ९० प्रतिशत भागमा राेपाइँ हुँदैन जुन क्षेत्र यतिबेला बाँझै छन । यी बाँझा खेतहरु गाउँबाट बसाई सरेर जानेहरुका हुन भने यहाँ बस्नेहरुले पनि पुर्खाका विरासत खेत बाँझै राखेका छन र अधिकाँश खेतहरुमा बयरका झाँग उम्रिएका छन ।
रुरुक्षेत्रकाे तालखाेला, जौखाेला र खुत्का खाेला क्षेत्रमा फल्ने धान अत्यन्तै स्वादिष्ट हुने गरेकाे सम्झना छ रुरुक्षेत्र १ का ओम ज्ञवालीलाई। "गर्नसम्म दुख गरियाे बसाई सरेपछि राेपाइँ भन्ने कुरापनि बिरानो भयाे खेत बाँझै भए" ज्ञवालीले भने ।
तालखाेला, जौखाेला र खुत्का खाेलाकाे वरिपरिका क्षेत्र बाँझै रहेपनि ग्वादिकाे चौर र याढुँगकाे बाेहातिर भने राेपाइँ हुन छाडेको छैन ।
त्यसाे त गाउबाट शहरतिर झरेपनि रुरुक्षेत्र १ ठाडाबाटका डाँडा खनिडाँडाडे लक्ष्मण ज्ञवाली, हरी ज्ञवालीले बाबू बाजेकाे विरासत बर्सौँटा, जौखाेला तिरका खाेले र टारी खेत बिर्सेका छैनन् र बर्सेनि गाउँ फर्केर राेपाइँ गर्दै आईरहेका छन ।
खेत राेप्न छाडेपछि खेतमा पुग्ने कुलाहरु मेटीएका छन । याे क्षेत्रमा पुर्खाले दर्जनौं कुला निर्माण गरेका थिए तर पछिल्लो पिँढिले न ती कुलाकाे सँरक्षण गरे न त बाबू बाजेले जाेरेकाे खेत नै सँरक्षण गरे ।
बजारतिर बसाइँ सरेपछि गाउँ मात्र बिर्सेनन पुराना सँस्कारहरु रिती रिवाज, गाउँ घरमा उत्पादन हुने रैथाने बाली पनि बिर्से ।
हरेक वर्ष जस्तै याे वर्ष पनि असार ,साउन आउँछन् जान्छन बाँझा खेतमा न हल चल्छन न राेपाइँ हुन्छन ,बुढापाका मात्र गाउँ घरमा छन र तिनै बाँझा खेतहरु हेर्दै पुराना सम्झना मनमा साँचेर बाँच्न विवस छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology