देवदह । देवदह नगरपालिकाको १२ औं नगरसभा सुरु भएको छ। सभामा नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लागि एक अर्ब सात करोड २४ लाख ४५ हजारको अनुमानित आय सहितको बजेट प्रस्तुत गरिएको छ। आइतबार नगर प्रमुख धुर्व प्रसाद खरेलले नगरको नीति तथा कार्यक्रम र आर्थिक विधेयक नगर सभामा प्रस्तुत गरेका हुन्।
प्रस्तुत विनियोजन विधेयकमध्ये आर्थिक विकासमा २२ करोड ७० लाख, समाजिक विकासमा ७ करोड ४३ लाख, पूर्वाधार विकासमा ३ करोड ९० लाख, सेवा प्रवाह र संस्थागत विकासमा १६ करोड ६५ लाख, बातावरण व्यवस्थापनमा १ करोड ४० लाख, वित्तिय व्यवस्थापन तथा सुशासनमा १० लाख रकम छुट्याईएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख धुर्व प्रसाद खरेल स्वस्थ रहौं, निरोगी बनौं भन्ने नाराका साथ देवदहमा गुट्का र सुर्तीजन्य पदार्थ बेचविखन निषेध गरिने जनाएका हुन्। नीति तथा कार्यक्रममा विपन्न परिवार र पत्रकारलाई निशुल्क स्वास्थ्य विमा गर्ने उल्लेख छ।
नीति तथा कार्यक्रममा नगर प्रमुख युवा उद्यमी कार्यक्रम, नगर उपप्रमुखसंग महिला कार्यक्रम लगायत अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिईएको छ।
त्यसैगरी नगरसभाले नगर प्रमुख र उपप्रमुखको सचिवालय व्यवस्थापन सम्बन्धी विधेयक-२०८० पारित गरेको छ। जसमा नगर प्रमुख र उप-प्रमुखले चौथो वा पाँचौं तहको एक-एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ। उक्त विधेयकको विषयमा केहि नगरसभा सदस्यले फरकमत राखे पनि हुन्छ र हुन्न भन्ने ध्वनी मतका आधारमा बहुमतले विधेयक पारित गरिएको थियो। सोही विषयमा नगर सभामा केही समय नाराबाजी समेत भएको थियो।
नगर सभा आगामी १९ गते पुन: बस्ने गरि स्थगित गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology