राजेश पराजुली, पोखरा । भनिन्छ, संगीतको न भाषा हुन्छ न सिमाना । संगीत बुझ्न भाषा बुझ्नुपर्छ भन्ने अनिवार्य हुदैन । भाषा भन्दा पर संगीतको धुनले हृदय तंरगीतत गराउँछ, पोखरामा प्रमाणित भएको छ ।
बिहिबार दिउँसो चीनको लिन्जी शहरको संगीत र नृत्यमा पोखरेली झुमे । नेपाली मौलिक लोक संस्कृतिमा चिनियाँ नागरिक रमाए ।
शुक्रबार र शनिबार पोखराको फेवातालमा हुने ‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’ मा सहभागी हुन आएका चिनियाँ कलाकारले पोखराको सभागृहमा बिहीबार दिउँसो लोक संस्कृति पस्किए । साँस्कृतिक पहिरनमा चिटिक्क परेका चिनियाँ कलाकारले लिन्जिमा बसन्त ऋतुमा प्रस्तुत हुने कोङ्बु, तिब्बतीयन ओपेरा, विवाङ, टासी ढेलेक जस्ता लोकसंस्कृतिको स्वाद चखाए । भाषा नबुझेपनि चिनियाँ कलाकारको प्रस्तुती सकिदाँ पोखरेलीले परर ताली बजाउँथे । कलाकारलाई सम्मान दर्शाउथे । चिनियाँ कलाकार पनि आत्मीयता साट्न स्टेजबाट दशर्कदीर्घामा ओर्लन्थे ।
नेपाली कलाकारले चिनियाँ पाहुनालाई नेपालको संस्कृति झल्कने कौराहा, चुड्का, धिमे र मारुनी नाँच प्रस्तुत गरे । चिनियाँ पाहुना पनि उसै गरी नेपाली लोकसंगीतमा डुबे ।
दुई देशका कलाकारले दर्जन बढी प्रस्तुती राखे । २ घण्टासम्म चलेको साँस्कृतिक कार्यक्रमको अन्तिममा दुई देशका कलाकारले सँगै समापन गरे ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोरोनाको बेला लिन्जीले पठाएको सहयोगको स्मरण गरे । लिन्जी पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध गाँसेको शहर हो । १५ वर्षदेखि पोखरालाई लिन्जीले सहयोग गर्दै आइरहेको छ ।
दुई देशको सँस्कृति आदनप्रदान गर्न साँस्कृतिक कार्यक्रम गरेको आचार्यले बताए । उनले भने, ‘मेयरसापसँगै कलाकार साथीहरु आउँदा कल्चर एक्सचेन्ज हुन्छ र हरेक वर्ष यो कार्यक्रम गर्नेगरीकन सुरु गरेका छौं’, उनले भने ।
लिन्जी शहरका प्रमुख बाटाले लिन्जी र पोखरा उस्तै लागेको भएको बताए । सुन्दरता र वातावरण उस्तै लागेको सुनाए । उनले पोखरा र लिन्जीको सम्बन्ध उचाईमा पुग्ने बताए । ‘चिनियाँमा एउटा उखान छ, जति धेरै आउजाउ हुन्छ त्यति धेरै सम्बन्ध घनिष्ठ हुन्छ’, उनले भने । पोखराको विकासले आगमि दिनमा फड्को मार्ने उनले बताए ।बुधबार पनि चिनियाँ कलाकारले नेपाली विद्यार्थीसँग सँस्कृति आदानप्रदान गरेका थिए ।बुधबार चिनियाँ टोली पोखरा आएका हुन् । छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमानबाट पोखरा ओर्लिएका चिनियाँलाई विमानस्थलको आगमन कक्षमा पोखरेलीले ढाकाको टोपी शिरमा पहिराउँदा खुब रमाईरहेका थिए ।
दक्षिण एसियामै नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’ ले पोखरामा चिनियाँ पर्यटक बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । दुई मुलुकबीचको संस्कृति आदनप्रदानले पनि सकरात्मक सन्देश फैलाउने आश गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology