देवदह । नेपाल विद्युत प्राधिकरणको शितलनगर कार्यालयमा बुधबार अचानक फोहोर बोकेको नगरपालिकाको ट्र्याक्टर प्रवेश गर्यो । ट्र्याक्टरको अघिपछि थिए, देवदह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष मोहन जिसी र अन्य स्थानीय युवाहरू ।
फोहोरले भरिएको ट्र्याक्टर किन विद्युत प्राधिकरणको कार्यालय परिसरमा ल्याएको भन्ने प्रश्नमा वडा अध्यक्ष जिसिले विद्युत प्राधिकरणमा बारम्बार अनुरोध गर्दा पनि सडक छेउँका पोल नसारिएकोले विरोध स्वरूप फोहोर ल्याईएको बताए । उनले भने, 'बारम्बार अनुरोध गरियो तर काम भएन, नगद पैसा दिए काम हुने नत्र महिनौंसम्म समस्या समाधान नहुने यो कस्तो कार्यालय हो?'
त्यतिमात्र होइन, उनले विद्युत कार्यालयमा भ्रष्टाचार हुने गरेको आरोप समेत लगाए । नियम अनुसार राजस्व तिरे महिनौँ लाग्ने काम नगद बुझाए एकैदिनमा हुने गरेको उनको आरोप छ।
यता अर्का स्थानीय युवा धुर्व खरेलले समेत विद्युत कार्यालयमा घुस बिना काम नै नहुने भन्दै यस्ता कार्यालयमा फोहोर फालेर डम्पिङ साइट बनाउनुपर्ने तर्क गरे । आफुले काम गरिरहेको साइटमा पोल सार्न सबै प्रक्रिया पूरा गरे पनि काम नभएको गुनासो गरे ।
यस विषयमा विद्युत कार्यालयको धारणा बुझ्न शशि भण्डारीलाई सम्पर्क गर्दा उनको फोन रिसिभ भएन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology