देवदह । प्रथम देवदह मिडिया फेस्टिवलमा प्राचीन कोलिय राज्यको विषयमा चर्चा भएको छ। फेस्टिवलको दोस्रो दिनको पहिलो सेशन अन्तर्गत बिहिबार बिहान ऐतिहासिक कोलिय राज्य र बृहत् लुम्बिनी क्षेत्रको विकास शिर्षकमा कोलिय राज्यबारे छलफल भएको हो ।
छलफलमा सहभागी हुँदै देवदह नगरपालिका प्रमुख धुर्व प्रसाद खरेलले देवदहको विकास विना लुम्बिनीको विकास पुर्ण हुन नसक्ने बताए । लुम्बिनी विकास कोषले देवदहमा उत्खनन सुरू गरेकोले बुद्धकालिन कोलिय राज्यको दरबारबारे तथ्य प्राप्त हुने विश्वास व्यक्त गरे ।
छलफलमा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनी विकास कोषले लुम्बिनीका सबै साइटमा उत्खनन गर्ने र सबै क्षेत्रको विकासका लागि काम गरिरहेको उल्लेख गरे ।
त्यसैगरी पर्यटनविद युवराज कडेंलले ऐतिहासिक र पुरातत्वको खोजमा स्थानीय सहभागीता अनिवार्य रहेको बताए । राज्यका निकायले खोज अनुसन्धान र लेखनको लागि समेत लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।
छलफलमा सहभागी वरिष्ठ पुरातत्वविद हिमाल उप्रेतीले देवदहमा उत्खनन सुरू भएको र उत्खननकै क्रममा रहेकोले देवदह बुद्ध मावली रहेको कोलिय राज्यको राजधानीसंग सम्बन्धित प्रमाण भेटिन सक्ने जनाए ।
पत्रकार शान्ति विकले पत्रकारहरूले देवदहको बारेमा लेखिरहेको र त्यसले देवदहको प्रचार प्रसारमा योगदान दिन सक्ने धारणा व्यक्त गरिन ।
पत्रकार रमेश पोख्रेलले सहजीकरण गरेको उक्त सेशनमा छलफलका लागि सहभागी बुद्ध दर्शनका अध्येता प्रकाश अर्याल, कमल प्रसाद न्यौपाने, पत्रकारहरू रेशम अधिकारी, प्रेम थापा, दामोदर साप्कोटा लगायतले समेत फ्लोरबाट प्रश्न गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology